१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘सिक्लेस’ले जुराएको शान्ति प्रक्रिया

कास्कीको सिक्लेसको सोमबार शान्तिस्तम्भ अनावरण गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः नागरिक

पोखरा - माओवादीको दशक लामो द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने पहिलो खुड्किलो थियो, सिक्लेस भेटवार्ता। त्यो बेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले निकै जोखिम मोलेर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता बाबुराम भट्टराईलाई कास्कीको सिक्लेसमा १२ वर्ष पहिले पहिलोपटक भेटेका थिए। त्यही भेटले शान्ति प्रक्रियालाई पूर्णता दिएको थियो।

कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा दाहाल र भट्टराई २०६३ साल असार २ गते तत्कालीन गृहमन्तत्री सिटौलासँग भेट गरेका थिए। माओवादीका तत्कालीन ती नेताबारे सर्वसाधारणमा अन्योल भइरहेको बेला कडा सुरक्षाबीच हेलिकप्टर चढेर पुगेका तत्कालीन गृहमन्त्री सिटौलाले सिक्लेसमा नेताद्वयलाई भेटेका थिए। त्यसपछि बल्ल दाहाल र भट्टराईबारेको भ्रम चिरिएको थियो।

‘सिक्लेस ऐतिहासिक गाउँ जहाँ शान्तिको निम्ति खतरनाक खेल खेलिएको थियो, जुन खेल साँचो पनि थियो। जनमुक्ति सेनाको परिधिमा सरकारी सुरक्षा छोडेर त्यो बेला सिटौला आउनुभएको थियो। त्यही जोखिम नै शान्तिप्रक्रियाको प्रस्थान बिन्दु बन्यो।’

पोखराबाट झन्डै ४० किलोमिटर टाढाको उक्त गाउँमा पहिलोपटक सिटौलाले भेट्दा दाहाल माओवादी सेना र हतीयारबीचको सुरक्षामा थिए। तर, उनै दाहाललाई भेट्न पुगेका तत्कालीन गृहमन्त्री सिटौला भने बडीगार्डसमेत नलिई पुगेका थिए। सिक्लेसमा दाहाल र भट्टराईलाई भेटेर सिटौलाले नै माओवादीका दुवै नेतालाई काठमाडौं उतारेका थिए।

शान्ति प्रक्रिया सुरुवात भएको त्यही ठाउँ (सिक्लेस) लाई शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मान्दै शान्ति स्तम्भ निर्माण गरिएको छ। कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा करिब १५ लाख रुपैयाँको लागतमा निर्माण भएको शान्ति स्तम्भको अनावरण गर्न उनै नेता दाहाल र सिटौला सोमबार सिक्लेस पुगे। १२ वर्षपछि पहिलोपटक यी दुवै नेता काठमाडौंबाट पोखरा हुँदै सिक्लेस गएका थिए। १२ वर्षमा खोलो फर्किन्छ भन झै दाहाल र सिटौलाको सिक्लेस यात्राको साइत पनि १२ वर्षपछि नै जुरेको छ।

अनावरण कार्यक्रममा बोल्दै सिटौलाले सिक्लेससम्मको त्यो यात्रा निकै चुनौतीपूर्ण रहेको सम्झिए। ‘म चुनौतीका बाबजुत त्यो बेला सिक्लेस आएको थिए,’ उनले भने, ‘शान्ति प्रक्रिया आवश्यक भएकोले जोखिमका बाबजुत पनि त्यो बेला म आएको थिए। त्यही यात्रा नै अन्तिममा शान्ति प्रक्रियामा बदलियो।’

नेकपाका अध्यक्ष दाहालले पनि सिटौलाको यात्रा त्यो बेला निकै नै जोखिमपूर्ण रहेको बताए। ‘सिक्लेस ऐतिहासिक गाउँ जहाँ शान्तिको निम्ति खतरनाक खेल खेलिएको थियो, जुन खेल साँचो पनि थियो,’ दाहालले भने, ‘जनमुक्ति सेनाको परिधिमा सरकारी सुरक्षा छोडेर त्यो बेला सिटौला आउनुभएको थियो। त्यही जोखिम नै शान्तिप्रक्रियाको प्रस्थान बिन्दु बन्यो।’ सिटौला सिक्लेस आएपछि आफुहरु पनि चुनौती मोलेरै्र काठमाडौं पुगेको दाहालले बताए। ‘सिटौला त जोखिमका साथ आउनु भएको थियो। हामी पनि जोखिम मोलेर काठमाडौं पुग्यौ,’ उनले भने।

हेलचेक्राई गरेको भएको त्यो बेला सिक्लेस आउँदा सिटौलाको ज्यानै जान सक्ने पनि खतरा रहेको दाहाले सम्झिए। ‘त्यो अवस्थामा अत्याधुनिक हतियार हामीसँग थिए। थोरैपनि गडबड भए त्यो बेला जे पनि हुनसक्थ्यो,’ दाहालले भने, ‘तर जोखिम उठाएर सरकारी सुरक्षा बिना गिरिजाप्रसाद कोइरालाको आडभरोसामा सिटौला साहस बटुलेर आउनुभयो। त्यही नै शान्तिप्रक्रियाको उपलब्धि रह्यो।’

देशमा स्थिति भयाभव हुँदा पनि आपूmहरू १२ वर्ष अघि त्यो बेलाका गृहमन्त्री सिटौलासँग भेट्ने आँट गरेको उनले सुनाए। ‘त्यो बेला को कहाँ मारिने भन्ने थिएन। हिँडडुलमा समस्या थियो। गाउँबाट सहर र सहरबाट गाउँ जान कठिन थियो,’ दाहालले भने, ‘निरंकुशतावादी शासकले जनतालाई दुःख दिने गरेको थियो। आतंककारीलाई ठीक गर्ने हो भन्ने सोचाई त्यो बेला थियो। बिद्रोहको नेतृत्व गरिरहेकोले मैले शान्ति आवश्यक ठानेकै कारणले भेटघाट सम्भव भयो।’ सिक्लेसको भेटघाटलाई त्यो बेला गिरिजाप्रसाद कोइरालाले पूर्णरूपमा सघाएको उनले सम्झिए। कोइरालासँग आफ्नो गोप्य रुपमा पटकपटक कुराकानी भएको पनि दाहालले बताए।

दाहालले शान्तिप्रक्रियाको महत्वपूर्ण क्षणको रुपमा सिक्लेसको यात्रा रहेको बताए। ‘१२ वर्ष अघि शान्तिप्रक्रियाको महत्वपूर्ण थालनी गरेको यो ठाउँ (सिक्लेस)लाई ऐतिहासिक महत्व दिएर अहिले हामी आएका छौं। त्यसले हामीलाई १२ वर्षअघिको त्यो क्षण सम्झाएको छ,’ उनले भने, ‘सिक्लेस शान्तिको प्रतीकको रूपमा रहेको छ। सिक्लेस ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय हुँदाहुँँदै शान्ति प्रक्रियाको लागि विशिष्ट बनेको छ।’

सिक्लेसको भविष्य उज्जवल रहेको उनले बताए। ‘विश्वले नेपालको शान्ति प्रक्रियाको अध्ययन गरेका छन्। ती अध्ययनकर्ताका लागि सिक्लेसको यो गाउँ अध्ययन गर्ने ठाउँ बन्ने गरेको छ,’ उनले भने, ‘आगामि दिनमा दुनियाँले सिक्लेसलाई झनै नजिकबाट नियाल्नेछ।’ शान्ति स्तम्भ अनावरण गराएर आगामि दिनमा सिक्लेको महत्व झनै बढाउने उनले बताए।

सोमबार पोखराबाट गाडीमा गएका दाहालले ३ घण्टा भन्दा बढी समय यात्रा गरेकोले अब त्यो सडक स्तरोन्नतीका लागि सघाउने बचन दिए। ‘यो बाटोको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ। अब बजेट हाल्ने काम हुन्छ,’ उनले भने, ‘सरकारको नेतत्वकर्ताको हिसाबले बजेट दिएर अर्काेपटक सिक्लेस आउँदा आधाण्टामा आउने गरि बाटो बनाउन सघाउनेछ। यो मेरो प्रतिवद्धता भयो।’

डेढ रोपनी क्षेत्रफलमा शान्ति प्रक्रियाको २० वटा भाव झल्कनेगरी स्तम्भ निर्माण गरिएको छ। झन्डै ३ महिना लगाएर निर्माण गरिएको स्तम्भ परिसरमा ‘अर्काइभ’ मार्फत् शान्ति प्रक्रियाका विभिन्न झलक तथा जानकारी गराइने व्यवस्था गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले बताए।

शान्ति प्रक्रियाको प्रस्थान बिन्दुका रूपमा सिक्लेसलाई लिइएकोले त्यसैको सम्झनामा स्तम्भ बनाइएको उनले बताए। ‘तत्कालिन माओवादीको विद्रोह शान्तिमा रुपान्तरण भएको ठाउँको रुपमा सिक्लेस परिचित भएको छ,’ उनले भने, ‘त्यसैको सम्झनामा हामीले शान्ति स्तम्भ बनाएका हौं।’ स्तम्भ बनाउन मादी गाउँपालिकाको १० लाख रुपैयाँसहित स्थानीयको जनश्रमदान गरी १५ लाख रुपैयाँ खर्च भएको छ। पहिलोपटक सिक्लेसमा सार्वजनिक हुँदा दाहालले त्यो बेला सिक्लेसलाई स्वीजरल्याण्ड जस्तै सुन्दर बनाउने वाचा गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App