२१ असार २०७७ आइतबार
राजनीति

बैठक बहिष्कारपछि नेकपामा तरंग

काठमाडौं - नेकपाका चार सचिवालय सदस्यले शनिबार बैठक बहिष्कार गरेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ। लामो समयसम्म पनि आन्तरिक एकीकरण नटुंग्याएको, एकीकरणको विषयभन्दा अन्य विषय नै नेतृत्वको प्राथमिकतामा परेको, स्थायी कमिटी बैठक नबोलाएको तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट नटुंग्याएको तथा पार्टी विधि र पद्धतिअनुसार नचलेको भन्दै असन्तुष्टि बढ्दै आएको छ।

शनिबार माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका थिए। चारजनाले बैठक बहिष्कार गरेर निस्किएलगत्तै बसेको पाँच सदस्यीय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

सचिवालय सदस्य खनालले आफूहरूले बैठक बहिष्कार गरेपछि पार्टीमा तहल्का मच्चिएको बताए। अध्यक्षहरूले रोगीलाई भेट्न थालेका कारण शनिबारको बैठक ढिलो भएको र आफूहरूले बहिष्कार गरेपछि पार्टीभित्र तरंग फैलिएको खनालको भनाइ थियो। उनले मापदण्ड, मूल्यमान्यताका आधारमा कम्युनिस्ट पार्टी स्थापना भएको भन्दै उनले पार्टी विघटन भए कम्युनिस्ट आन्दोलन नरहने बताए। नेता खनालले नेकपा सैद्धान्तिक बाटो समाजवाद भए पनि त्यसलाई कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए।

उनले पार्टीको टुप्पीमा बसेका एकजना नेताले नेकपालाई कुनै आइडियोलोजिकल पार्टी होइन भनेको भन्दै आपत्ति जनाए। खनालले आइतबार राजधानीमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा भने, ‘अहिलेकै अवस्थामा महन्थ ठाकुरको पार्टी र नेकपामा के अन्तर रह्यो र ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन।’

कार्यक्रममा नेता घनश्याम भुसालले लोकतान्त्रिक स्थिरता, राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी वाम आन्दोलनको चुनौतीका रूपमा रहेको बताए। भुसालले नेकपाभित्र वामपन्थ नै नबाँच्ने हो कि भन्ने चिन्ता थपिएको बताए। उनले नेकपाभित्र सैद्धान्तिक विषयले महत्वपूर्ण स्थान नपाएकोमा असन्तुष्टि व्यक्त गरे। उनले तत्कालीन एमालेले जबजलाई सत्तामा जाने भ-याङका रूपमा मात्र प्रयोग गरेको र माओवादीमा स्थिरता नदेखिएको आरोप लगाए। उनले भने, ‘पार्टीभित्र गुटबन्दीले नश्लीय रूप लिएको छ, आफ्नो गुटको हो कि होइन भनेर थुक, खकार र डिएनए परीक्षण गर्ने प्रवृत्ति देखियो।’

प्रकाशित: २४ मंसिर २०७५ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App