coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'गरिब भएकै कारण अन्याय नहोस्’

उल्टाखाम(कञ्चनपुर) - निर्मला पन्तको हत्या प्रकरणमा छानबिनका लागि पछिल्लोपटक पक्राउ परेका प्रदीप रावल र विशाल चौधरी दुवै गरिब परिवारका हुन् । प्रहरीले दुवैजनासँग काठमाडौंमा बयान लिइरहेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएपछि ज्यालादारीमा काम गर्दै आएका भीमदत्त नगरपालिका– १८ का चौधरीले कक्षा ५ सम्म पढेका छन् । उनका बुवा पनि मजदुरी काम गर्थे । साउन ९ गते राति कुखुरा चोरेको आरोपमा १० गते साँझ उनलाई प्रहरीले पक्राउ गरेर एक दिन थुनामा राखेको थियो । चौधरीकी आमा सलमती चौधरी भन्छिन्, ‘गरिब भएकै कारण मेरो छोरामाथि अन्याय नहोस् ।’

निर्मलाको हत्यालगत्तै प्रहरीले रावललाई सोधपुछ गरेर छाडेको थियो । उनलाई पनि प्रहरीले कुखुरा चोरेको आरोपमा साउन १० गते बिहान समातेर एकछिनमै छाडेको थियो । उनका आमाबुबा भारतको बेङलोरमा मजदुरी गर्छन् । उनी घरमा एक्लै बस्दै आएका थिए । गाडीको ग्यारेजमा केही महिना काम गरेका उनले काठमाडौंमा पेन्टिङ गर्दै आएको ठूलाबुवा कृष्णबहादुर रावलले बताए । उनले भृकुटी माविबाट कक्षा ९ सम्म पढेका छन् । ‘दोषी भए कारबाही हनुपर्छ ठिकै छ तर गरिब भएकाले अन्याय हुनुहुँदैन’, कृष्णबहादुरले भने ।

गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मलाको शव ११ गते बिहान उखुबारीमा फेलापरेको थियो ।

स्थानीयले निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । शनिबार सवारीसाधनलगायत विभिन्न ठाउँमा निर्मलालाई ‘न्याय देऊ लेखिएका पोस्टर टाँसेको नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन् । आइतबार आँखामा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिने जानकारी पनि उनले दिइन् । ‘अपराधी भए सजाय हुनुपर्छ तर गरिब भएकै कारण कसैलाई पक्राउ गरेर मोहरा बनाउन पाइँदैन’, उनले भनिन्।

प्रकाशित: २३ मंसिर २०७५ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App