४ वैशाख २०८१ मंगलबार
राजनीति

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको विदाई भेट

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन्। बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन्।

उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गरे। नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताए। ‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो। नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’, उनले भने, ‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ। दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ।’

उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पुग्ने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताइन। उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न चीन तयार रहेको उल्लेख गरिन्। राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताइन्। 

 

प्रकाशित: १९ मंसिर २०७५ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App