१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ५ : हिउँदे अधिवेशन मंसिर २६ मा

बुटवल - प्रदेश नं ५ को हिउँदे अधिवेशन पाँच महिना पछि मंसिर अन्तिम साता बस्ने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले मंसिर २६ गते हिउँदे अधिवेशन आव्ह्वानका लागि प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो।  २६ गते दिउँसो १ बजे प्रदेश सभा बैठक सुरु हुने गरी अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

मंगलबार मुख्यमन्त्री शंकर पोखरेल र प्रदेशका मुख्य सचिवले प्रदेश प्रमुख उमाकान्त झालाइ भेट गरी अधिवेशन आव्ह्वानको लागि अनुरोध पत्र दिने छन्।

सोमबारको बैठकले एउटा विधेयक र कार्यविधि सदनमा पेश गर्न स्वीकृती प्रदान गरेको छ। प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक खरिद सम्बन्धी अन्तरिम कार्यविधि सदनमा पेश गर्न सोमबारको मन्त्रीपरिषद बैठकले स्वीकृत प्रदान गरेको हो। बैठकले दाङ्गको घोराही उपमहानगरपालिका ८ को ढिकापुर गाँउलाइ वडा न ९ मा गाभ्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

प्रदेश ५ मा वर्षे अधिवेशन गत साउन २४ गते सकिएको थियो। यस अघि लामो समयसम्म प्रदेश सभा बैठक आव्ह्वान नहुँदा सदन मार्फत पुरा गर्नु पर्ने काम,कर्तब्य र जिम्मेबारी पुरा गर्न नसकीएको र आफुहरु फुर्सदिलो भएको गुनासो सांसदहरुले गर्दै आएका थिए। पहिलो र दोश्रो अधिवेशनबाट यो प्रदेशमा १५ वटा कानून निर्माण भएका छन्। एउटा विधेयक समितिमा छलफलकै क्रममा छ। हिउँदे अधिवेशनकालागि पनि प्रदेश सरकारले यसअघिनै १४ वटा विधेयक सदनमा पेश गर्न स्वीकृती प्रदान गरीसकेको छ। पछिल्लो समय मन्त्रालयहरु विधेयक तथा कार्यविधिहरु निर्माणमा जुटेकाले अबको प्रदेश सभा बैठककालागि बिजनेश अभाव नहुने  सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार यो वर्ष करिब एक सय वटा कानून निर्माण गर्ने लक्ष्य लिइएको छ।

 

प्रकाशित: १७ मंसिर २०७५ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App