coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाट : दाहाल

धादिङ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहालले राजनीतिक स्थायित्व र संविधान निर्माणका कारण नै पार्टी एकता सम्भव भएको बताएका छन्। 

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा सुरु भएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीतिक दलबीचको एकता र सम्झौता भएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाट हुने बताए। शान्ति प्रक्रियाका बाँकी कामलाई राजनीतिक दलहरु बीचको सहमतिका आधारमा टुङ्गोमा पु¥याउन नेपाली काँग्रेससँग छलफल भइरहेको बताए।  

नेपालको राजनीतिक परिवर्तन, शान्ति सम्झौता र सेना समायोजनका विषयमा परिपक्व हुँदै एकताको प्रक्रियासम्म आइपुगेको दाहालले बताए। ‘एउटै ढुङ्गामा चढेर हामी यहाँसम्म आइपुगेका हौं’, अध्यक्ष दाहालले भने, ‘आउने दिनहरुमा पनि यस्तै परिपक्वता देखाउनु आवश्यक छ।’ राजनीतिक दलहरुबीच एकता नभए देशले निकै नै चुनौतीपूर्ण र जटिल परिस्थिति सामना गर्नुपर्ने उनको चिन्ता छ। दलहरु बीचको एकताको बलमा राजनीतिक परिवर्तन, स्थायी शान्ति र विकासका आधारहरु खडा गरिएको बताउँदै दाहालले राजनीतिक एकता हुन नसके त्यो देशका लागि दुर्भाग्य हुने बताए। बहुमतको सरकार बनेपछि कोशीको बाँध, डुवान, रेलमार्ग ल्याउने कुरा सम्भब भएको उनले दाबी गरे।

राम्रो काम गर्नेको आलोचना जुन क्षेत्रमा पनि हुने भन्दै असम्भव भनिएका काम सहमतिमा टुङ्याउने प्रतिबद्धता जनाए। गरिबी, भष्ट्राचार, आर्थिक विकास र राजनीतिक सुजबुज लगायतका विषयमा सरकारको कामको आलोचना भएपनि नेकपाको नेतृत्वमा सरकार बनेपछि देशमा निकै परिवर्तन भएको दाहालले दावी गरे। ‘निकै ठूलो संघर्ष त्याग तपस्यापछि राजनीतिक प्रणाली प्राप्त भएको छ’, दाहालले भने, ‘अबको हाम्रो लडाई आर्थिक समृद्धि र सुशासनको लडाई हो।’ अबको लडाईँ देशको आर्थिक परिवर्तनका लागि हुनुपर्ने अध्यक्ष दाहालले बताए। 

मेलामा बोल्दै अध्यक्ष दाहालले आर्थिक समृद्धिको आधार नै कृषि, पर्यटन तथा औद्योगिक क्षेत्र रहेको बताए। धादिङ र गोरखाको सिमानमा रहेको बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाको तिब्र ढंगले अगाडि बढिरहेको पनि दाहालले जानकारी गराए। राजमार्गलाई चार लेन बनाइने, रेलमार्ग निर्माण गर्ने र कृषिको सुपर जोन बनाउने विषयमा आफ्नो चासो भएको उनको भनाई छ। सरकारले गरेका राम्रा कामको प्रस्तुत गर्दै दाहालले चार वर्षभित्र काठमाडौँमा रेल पुग्ने गरी पूर्वाधार विकासका योजना बनिसकेको बताए। 

प्रकाशित: १४ मंसिर २०७५ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App