२६ असार २०७७ शुक्रबार
राजनीति

उमाको उमंग : बधाई थाप्न भ्याइनभ्याइ

बिबिसीले छनोट गरेका संसारका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा दसौं स्थानमा परेकी उमादेवी बादी। तस्बिर : योगेश/नागरिक

टीकापुर - सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्नै सक्दिनन्। उनको मुखबाट ‘धन्यवाद’ शब्दमात्र निस्किन्छ।

सामान्य कखरा मात्रै जानेकी उनलाई शुभचिन्तकले किन यसरी बधाई दिइरहेका छन् त ? धेरै कुरा त उनलाई थाहा छैन। उनलाई बिबिसीले आफूलाई छनोट गरेको भन्ने मात्रै थाहा छ। ‘वास्तविक कुरो मलाई अहिले पनि थाहा छैन’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘जति तपाईंहरूले भन्नुभयो त्यत्ति मात्रै हो।’

बादी समुदायका महिला र बालबालिकाको अधिकारका पक्षमा संघर्ष गर्दै आएकी उमादेवी बादीलाई बिबिसीले संसारभरका एक सय प्रभावशाली महिलाको सूचीमा राखेको छ।

उनी बेलायती सञ्चार संस्था बिबिसी विश्व सेवाले यस वर्ष छानेका संसारभरका प्रभावशाली र प्रेरणादायी एक सय महिलाभित्र पर्न सफल भएकी छन्। उनको नाम १० औं स्थानमा छ। यसै कारण उनी बधाईको पात्र बनेकी हुन्। उनलाई बधाई दिनेको घुइँचो लागेको हो। शुभचिन्तकमध्ये कतिले मोबाइलबाट त कतिले भेटेरै उनलाई बधाई दिइरहेका छन्।

उमादेवीका अनुसार झन्डै एक साताअघि उनलाई बिबिसी नेपाली सेवाबाट एक महिलाले फोन गरेर फोटो मागेकी थिइन्। त्यतिबेला उनी गाउँमै थिइन्। उनले भोलिपल्ट टीकापुर बजार पुगेर फोटो खिचेर पठाइन्। तर फोटो किन मागेको भनेर उनले सोधिनन्। ‘न मैले सोधें न ती महिलाले नै केही बताइन्’, उनले भनिन्, ‘सोचें, कुनै कार्यक्रममा बोलाउन होला।’ फोटो माग्ने तिनै महिलाले सोमबार साँझ फेरि उनलाई फोन गरेर ‘तपाईं बिबिसीको छनोटमा परेको’ भनेर बधाई दिइन्। उनले के छनोट, कस्तो छनोट त्यो पनि सोधिनन्। त्यसको केही समयपछि छिनछिनमा उनको मोबाइलको घन्टी बज्न सुरु भयो। फोन गर्ने सबैले ‘बधाई’ भन्न थाले तर त्यतिबेला उनी स्वयंलाई बधाईको वास्तविकता थाहा थिएन। पछि बल्ल उनले थाहा पाइन्– आफूले महिला र बालबालिकाका पक्षमा गरेको संघर्षबाट प्रभावित भएर बिबिसीले प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा राखेको रहेछ।

उमादेवीलाई उनको संघर्षमय जीवनयात्राले यो स्थानसम्म पु¥याएको हो। उनले जीवनका हरेक पल बादी समुदायको अधिकार स्थापित गर्न खर्चिएकी छन्। बादी समुदायभित्र पनि खासगरी महिला र बालबालिकाको अधिकारका लागि उनको संघर्ष जारी छ। संघर्षले केही उपलब्धि मिलेको छ, थपका लागि अझै अघि बढ्नुछ।

‘आमाका नाममा नागरिकता’ उनले उठाएको सबैभन्दा ठूलो मुद्दा हो। उनलाई परपुरुषसँगको यौनसम्बन्धपछि जन्मिएका बादी महिलाका सन्तानले नागरिकता नपाएको पीडाले छोयो। यसै कारण उनी आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउनुपर्छ भनेर यसलाई साकार पार्न अघि सरिन्। यो दुई दशकअघिको कुरा हो। तत्कालीन समयमा यस्तो कुरा गर्नु हास्यास्पद ठहरिन्थ्यो। त्यतिमात्रै हैन, राज्यका ऐनकानुनलाई चुनौती दिनु पनि थियो। ‘त्यतिबेला मेरा कुरा सुनेर धेरै मान्छे हाँसेका थिए’, उनले भनिन्, ‘सिडिओले त यस्तो कुरा ग¥यो भने जेल हाल्छु समेत भनेका थिए।’

तर उनी थाकिनन्। उनले पश्चिम तराईका जिल्लामा रहेका बादी समुदायलाई एकत्रित गरिन्। उनको पछाडि सिंगो बादी समुदाय उभियो। उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिब पाँच सय बादी अगुवाले २६ बुँदे माग राखेर ‘गाउँदेखि सिंहदरबार’ नाम दिएर यात्रा थाले। त्यतिबेला उनी २८ दिन हिँडेर काठमाडौं पुगेकी थिइन्। आन्दोलन ४८ दिनसम्म चल्यो।

‘गाउँदेखि सिंहदरबार’ अभियान सञ्चालन गरेर काठमाडौं पुगेका उनीहरूलाई सरकारले सिंहदरबार प्रवेशमा रोक लगायो। उनीहरूले सिंहदरबार बाहिर धर्ना दिए, नाराजुलुस गरे, शान्तिपूर्ण विरोधका सबै उपाय अपनाए। तैपनि सरकारले सुनेन। शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले नसुनेपछि उनीहरूले जबरजस्ती सिंहदरबार प्रवेश गर्ने योजना बनाए। सोही योजनाअनुसार भदौ ५ गते छुट्टाछुट्टै ठाउँबाट ¥याली निकालियो। माइतीघरबाट सिंहदरबार जाने ¥यालीको नेतृत्व उमादेवीले गरेकी थिइन्। उनको पछाडि २०÷२५ जना महिला मात्रै थिए। उनीहरू सोझै सिंहदरबार गेट पुगे। सुरक्षाकर्मीले गेट बन्द गरिदिए, भित्र पस्न पाएनन्। आक्रोशित उमादेवी अर्धनग्न अवस्थामै सिंहदरबारको गेटमा चढिन्। उनले सरकारविरुद्ध नाराबाजी गरिन्। सहभागी बादी महिलाले अर्धनग्न अवस्थामै सरकारविरुद्ध नाराबाजी गरेर उनलाई साथ दिए।

नेपालको संविधानमा आमाको नामबाट छोराछोरीले नागरिकता पाउने संवैधानिक व्यवस्था छ। अहिले आमाका नामबाट पनि छोराछोरीलाई नागरिकता दिन थालिएको छ। ‘मैले बादी महिलाको मात्रै समस्या देखेर यो मुद्दा उठाएकी थिएँ तर यो सबै महिलाको साझा समस्या र आन्दोलनको विषय बन्यो’, उनले भनिन्, ‘अहिले निकै खुसी महसुस भइरहेको छ।’ दलित समुदायभित्र पनि दलितका रूपमा चिनिने बादी समुदायमा जन्मिएकी उमादेवीलाई त्यो बेला राज्यका कानुनविरुद्ध उभिनु कम चुनौतीपूर्ण थिएन। तैपनि उनले हिम्मत हारिनन्। भन्छिन्, ‘त्यही हिम्मतले यहाँसम्म ल्याएको छ।’

उनी सल्यानको थापागाउँमा २०२१ सालमा जन्मिएकी हुन्। उनका पाँच भाइबहिनी छन्। चार बहिनीमध्ये उनी माइली हुन्। दुई वर्षको उमेरमा अभिभावकसँगै कैलाली झरिन् उनी। कैलालीमा स्थायी बसोबास स्थल थिएन। तत्कालीन अवस्थामा बादी समुदायको पेसा नाच्दै गाउँदै हिँड्ने थियो। उनका अभिभावक पनि त्यसरी नै हिँड्थे। ‘मेरो बाल्यकाल अभिभावकसँगै घुमेर बित्यो’, उनले विगत सम्झिन्, ‘ती दिन निकै कष्टपूर्ण थिए।’

उनले २१ वर्षको उमेरमा अन्तरजातीय बिहे गरिन्। उनका पति प्रेम भट्ट हुन्। उनको साथबाट पतिलाई छुटाउन निकै प्रयत्न भए। तैपनि उनीहरू लामो समय सँगै बसे। उनीहरूका सन्तान छैनन्। उनले बहिनीका छोरा पढाइन्। एउटा छोरा राकेश दोलखास्थित क्याम्पसमा प्राध्यापक छन्। अर्को छोरा गौरव काठमाडौंमा जागिरे छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App