१५ चैत्र २०८० बिहीबार
राजनीति

बालुवाटारबाटै प्रशासनिक कार्य

काठमाडौं – नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ तर सिंहदरबारमा हुने सो बैठकमा प्रधामन्त्री ओली सहभागी हुने नहुने, अनिश्चित छ । प्रधानमन्त्री ओली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् । मुलुकको कार्यकारी प्रमुखको भूमिकामा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन्।

प्रधामन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य प्रगति चौमासिक समीक्षा बैठक प्रधामन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी बैठक आह्वान गरिसकेको छ । मन्त्रालय र संवैधानिक निकाय तथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली अनुसार उनीहरुले हरेक महिनाको ७ गतेभित्र पेस गरेको कार्य प्रगति विवरणअनुसार चौमासिक समीक्षा बैठक हुन लागेको हो । प्रधानमन्त्री ओली भने दसैंपछाडि प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छैनन्।

दसैंबिदापछि स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री ओलीले कार्यालयको प्रशासनिक कामसमेत बालुवाटारबाटै गर्दै आएका छन् । बिरामी परेपछि उनका सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्री कार्यालयका मुख्य सचिव तथा सचिवहरुले त्यहाँको प्रशासनिक कार्यमा प्रधानमन्त्रीलाई सहयोग गरिरहेका छन् । उनी आफ्नै पार्टी नकेपाले कात्तिक १० मा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेका थिएनन । स्वास्थ्यमा समस्या आएपछि १२ कात्तिकको बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय मन्त्रिपरिषद्को बैठक पनि बालुवाटारमा बस्दै आएको छ । ‘चिकित्सकले अझै एक साता भीडभाडमा नजान सल्लाह दिएका छन् । त्यसकारण समीक्षा बैठकमा उहाँको उपस्थिति हुन्छ कि हुन्न, अझै केही भन्न सक्ने अवस्था छैन’, प्रधामन्त्री कार्यालय स्रोतले भन्यो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीको उपस्थितिमा कार्यप्रगतिको समीक्षा हुने बताए । ‘सिंहदरबारमै वा जहाँ भए पनि उहाँकै उपस्थितिमा सो बैठक हुन्छ’, अर्यालले भने । उनका अनुसार चिकित्सकले त्यसप्रकारको बैठक वा छलफलमा नबस्नू भनेका होइनन्, ठूला हल वा पार्टीप्यालेसमा हुने कार्यक्रममा मात्र सहभागिता नजनाउनू भनेका हुन् । ‘सामान्य बैठक, छलफल वा राय सुझाव र प्रशासनिक काम बालुवाटरबाटै भएका छन् । प्रधानमन्त्री सुतेर बस्नुभएको छैन । सभा समारोह वा हलमा हुने कार्यक्रममा मात्रै उपस्थित हुनुभएको छैन’, उनले भने।

प्रधानमन्त्री कार्यालयले भने ओलीकै उपस्थितिमा समीक्षा बैठक सिंहदरबारमै हुने जनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोद कुँवरका अनुसार चौमासिक समीक्षा बैठक प्रधामन्त्री कार्यालयमै हुनेछ । ‘प्रधामन्त्रीकै उपस्थितिमा चौमासिक समीक्षा बैठकको मिति तय भएको छ, बैठक सिंहदरबारमै बस्छ’, उनले भने । उनका अनुसार हरेक महिनाको ७ गते प्रत्येक निकायले आफ्नो कार्य प्रगति अनलाइनमार्फत प्रधानमन्त्री कार्यालयमा पेस गर्नुपर्छ।

प्रगति विवरणको प्रधानमन्त्री र उनको मातहतका अधिकारीले अनुगमन र मूल्यांकन गर्नेछन् । यो मूल्यांकनपछि ६० अंक प्राप्त गर्ने मन्त्री र मन्त्रालय पहिलो र ५० अंक प्राप्त गर्ने मन्त्रालय दोस्रो हुनेछन् भने त्यसभन्दा मुनि अंक प्राप्त गर्ने मन्त्रालयका मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले स्वविवेकी निर्णयले हटाउन वा राख्न सक्नेछन् । ४० भन्दा पनि मुनि अंक ल्याउने मन्त्रालय र मन्त्रीको हकमा भने मन्त्री नै फेरिन सक्ने पनि प्रधानमन्त्री कार्यालयका एक सल्लाहकारले बताए।

प्रकाशित: ३ मंसिर २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App