coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकार जुनतारा झार्ने कुरा गर्छ, काम भने शून्य छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्। सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी रहेको सुनाउँदै नेता केसीले भने, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो। तर, अहिले काम गर्न सकेको छैन्। अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप पनि लगाए। ‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो। उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ। उहाँमा सत्ता र शक्तिको उन्माद देखियो’, शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता केसीले भने।

उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि आपत्ति जनाए। केसीले भने, ‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त? सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो। तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त?’ सरकारले सिण्डिकेटको अन्त्य गरेको भनेर भने पनि अहिलेसम्म सिण्डिकेट नतोडिएकोमा आक्रोश पोख्दै उनले भने, ‘सरकारले जुनतारा झार्ने कुरा गर्छ। तर, काम भने शून्य छ।’ 

पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउने गरी मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले आपत्ति जनाए। 

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ११२ दिन भैसक्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको बताए। उनले भने, ‘निर्मलाका बुवाआमा अनशन बस्नुभएको छ। उहाँहरु विरामी पर्नुभएको छ। तर, सरकारले हत्यारा पत्ता लगाउन सकेन्।’ निलम्बित एसपीले आफूले त आइजीपीको निर्देशन मानेको हुँ भनेर बोलेको कुरा सुनाउँदै केसीले सरकारको लागि अपराधी किन ठूलो भएको हो ? भनेर प्रश्न गरे। 

मुलुकमा पछिल्लो समय बलात्कार, हत्या, भ्रष्टाचार, महँगी र मुल्यवृद्धिले चरम सिमा नाघेको तर सरकार भने मुकदर्शक भएर बसेको उनको आरोप छ। केसीले भने, ‘सरकार त आफ्ना आफन्तहरुलाई विभिन्न पदमा नियुक्ती गर्न लागिपरिरहेको छ। हुन त यो सरकार ५ वर्षको लागि हो। तर, यो पछिल्लो ९ महिनाको काम हेर्दा पूर्ण रुपमा असफलतातर्फ उन्मुख छ। अझै सरकारको अग्निपरीक्षा बाँकी नै छ।’

प्रकाशित: ३० कार्तिक २०७५ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App