काठमाडौं, साउन २८ (नागरिक)- राष्ट्रिय सहमतिका लागि एकीकृत माओवादी र नेकपा एमालेबीच सैद्धान्तिक सहमति बने पनि कार्यान्वयन भदौ २ अघि या पछि गर्ने अन्योल देखिएको छ। एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार बिहीबार माओवादीसँगको वार्तामा दुई दलबीच यस्तो सहमति भएको हो तर सहमति कहिले गर्ने भन्ने टुंगो भने बिहीबार पनि लाग्न सकेन। सहमति प्रस्तावबारे कांग्रेससँग कुरा गर्न माओवादीले आग्रह गरेको खनालले बताए। ‘फिर्ता गरेर सहमति गर्ने कि सहमति गरेर फिर्ता गर्ने भन्ने विषय स्पष्ट हुनुपर्यो,' बैठकमा माओवादी आग्रह उद्धृत गर्दै खनालले भने, ‘माओवादीले कांग्रेस यसमा तयार छ कि छैन भन्ने प्रष्ट हुनुपर्यो भनेको छ।' माओवादीले सहमतिका लागि लचिला हुन तयार रहेको धारणा राखेको उनले जानकारी दिए।
बुधबार एमाले केन्द्रीय कमिटीको बैठकले भदौ २ अघि सहमतिको प्रयास गर्ने, सहमति नबने भदौ ३ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो। माओवादी केन्द्रीय समितिको बिहीबार बैठकले पनि यस्तै आशयको निर्णय लिएको छ।
माओवादी संसदीय दल सिंहदरबारमा भएको एमाले-माओवादी भेटघाटमा एमालेले दुवै पार्टीले उम्मेदवारी फिर्ता लिएर नयाँ उचाइको सहमति जुटाउनुपर्ने प्रस्ताव गरेको थियो। ‘सहमतिको विकल्पमा पहिलो नम्बरमा दुई प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएर नयाँ उचाइबाट राष्ट्रिय सहमति गरौँ भनेका छौँ। माओवादीले यसलाई सकारात्मक रूपमा लिएको छ,' एमाले अध्यक्ष झलनाथ खनालले भने।
राष्ट्रिय सहमतिका लागि पार्टी पहिल्यैदेखि प्रष्ट भएकाले सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने प्रस्ताव आफूहरूले गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। ‘शान्तिप्रक्रियाको आधा हिस्सा र ठूलो दल भएकाले सरकार हाम्रो नेतृत्वमा हुनुपर्छ। सहमतिका लागि हामी लचकता अपनाउन तयार छौँ भन्ने जानकारी एमालेलाई गराएका छौँ,' श्रेष्ठले भने, ‘सहमति भदौ २ गतेअघि कि पछि भन्ने स्पष्ट हुनुपर्यो भनेका छौँ।'
उम्मेदवारी फिर्ता लिनेबारे कांग्रेससँग छलफल गर्न माओवादी तयार भएको उनले बताए।
बिहीबार माओवादी बैठकले भदौ २ गतेको चुनावबाट पनि परिणाम निस्कने सम्भावना न्यून रहेको निष्कर्ष निकालेको छ। बैठकले पाचौँ चरणको चुनावपछि राष्ट्रिय सहमति सरकार गठनका लागि सबै विकल्प खुला गर्ने गरी रणनीति तयार पारेको छ।
एमालेले सहमति नजुटे पुनः तटस्थताको नीतिलाई कायमै राख्ने निर्णय गरेपछि दुवै उम्मेदवारको पक्षमा परिणाम आउने सम्भावना देखिएको छैन। एमालेले तटस्थ बस्ने निर्णयसँगै सहमति जुटाउन सबै दललाई आह्वान गरेको छ। त्यही क्रममा बिहीबार माओवादीसँग भेटघाट भएको हो। अन्य दलसँग भेटघाटका लागि समय तय भइरहेको एमालेले जनाएको छ।
प्रकाशित: २७ श्रावण २०६७ १९:२५ बिहीबार