१६ चैत्र २०८० शुक्रबार
राजनीति

जनताको घरदैलोमै सिंहदरबार पुग्छ : दाहाल

नेकपाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका । तस्बिर: नागरिक

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइने बताएका छन् । संविधानको कार्यान्वयन तथा जनतालाई परिवर्तनको महसुस गराउन स्थानीय तहमा कर्मचारी र पूर्वाधार अभावका कारण जनप्रतिनिधिले काम गर्न नसकेको बताए।

तीनदिने पारिवारिक भ्रमणका क्रममा म्याग्दीमा रहेका पूर्वप्रधानमन्त्री दाहालले पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरमा आयोजित भेटघाट कार्यक्रममा अधिकारसम्पन स्थानीय सरकारसहित तीन तहको संघीय संरचनालाई संविधानमा तोकिएको अधिकारको प्रयोगमा ढिलाइ गर्न नहुने बताए । ‘स्थानीय तहको सबैभन्दा जटिल समस्या कर्मचारी देखियो । आवश्यक जनशक्ति नहुँदा जनप्रतिनिधिको काम देखिँदैन’, अध्यक्ष दाहालले भने।

उनले सरकारले परिवर्तनको महसुस गर्ने गरी काम गरिरहेको दाबी गर्दैै सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने गरी सरकारले पूर्वाधार, कानुन र कर्मचारी व्यवस्थापन गर्ने बताए । ‘गाउँगाउँमा विकास भएमात्रै समृद्ध नेपाल बन्छ । जनताको आवश्यकता पूरा गर्न स्थानीय सरकारको संरचना बनेको हो’, अध्यक्ष दाहालले भने र उनले केन्द्रीय सरकारले गरेका जनपक्षीय कामलाई जनताको घरदैलोमा पु¥याउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिको भएको बताए।

उनले जनतालाई विकासको अधिकार, सुशासन, घरदैलोमै सेवा उपभोग गर्ने व्यवस्था मिलाउन स्थानीय सरकारको सक्रियता थप प्रभावकारी बनाउनुपर्ने बताए । ‘अहिले नाममात्रैको सिंहदरबार गाउँमा पुगेको छ, कानुन र कर्मचारी समायोजन भएपछि जनताको घरघरमै पुग्छ’, दाहालले भने।

उनले स्थानीय सरकारको विकास निर्माणमा जनताको सहज पहुँच, स्रोतसाधनको परिचालनका साथै समस्या समाधान गर्ने गरी विश्वमै नयाँ मोडलको स्थानीय तहको संरचना लागू भएको बताए । उनले हाल जिल्लामा रहेका सरकारी कार्यालय अस्थायी भएको बताउँदै केही वर्षभित्र जिल्लामा रहेका सरकारी कार्यालय स्थानीय तहमै सारिने बताए । उनले डिभिजन वा अन्य बहानामा सदरमुकाममा राखिएका कार्यालयतर्फ संकेत गर्दै तोकिएको जिम्मेवारी र ठाउँमा पुगेर कर्मचारीले सेवा दिनुपर्ने बताए।

गृहमन्त्री रामबहादुर थापासँगै सहिद परिवार, स्थानीय जनप्रतिनिधि, पार्टीका कार्यकर्तालाई भेटघाटका क्रममा अध्यक्ष दाहालले म्याग्दी जिल्लामा विकास निर्माणमा बजेट अपुग भएको महसुस गरेको बताए । उनले धेरै प्रयोग हुने सडकमा समेत पर्याप्त बजेट अभावले विकासे योजना अलपत्र परेको बताउँदै विकास निर्माण, प्राविधिक शिक्षा, जलविद्युत्, धार्मिक तथा उपचार स्थलका रूपमा रहेको तातोपानी कुण्डमा बजेटको पहल गर्ने बताए।

सोही अवसरमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कर्मचारीको व्यवस्थापन नहुँदा जनप्रतिनिधिलाई सकस भएको बताएका थिए । उनले गाउँपालिकाका वडामा सचिव नहुनु, एउटै कर्मचारीले धेरै जिम्मेवारी दिनुपर्ने अवस्थाले समस्या भएको बताए । उनले स्थानीय तहलाई नाम मात्रको अधिकार भएको बताउँदै संविधानमा तोकिएको अधिकार र बजेटलाई केन्द्र सरकारले चासो देखाउनुपर्ने बताए।

भेटघाट कार्यक्रममा मंगला माविका प्रधानाध्यापक गमबहादुर खत्रीले मावि तथा मंगला शिक्षा क्याम्पसमा प्राविधिक शिक्षाको अनुमति, पूर्वाधारको आवश्यकता रहेको बताउँदै ज्ञापनपत्र बुझाएका थिए । द्वन्द्वपीडित सुजनालाई गुमाएकी गुमा खड्कालाई भेटेर दाहालले सहिदको सपना साकार गर्ने बताए।

उनले सहिद परिवारलाई सरकारले कुनै पनि अभाव महसुस हुन नदिने बताए । उनले भेटघाटमा पटकपटक सहिदको नाम लिएका थिए । भेटघाटपछि युवा व्यवसायी अशोक शर्माको केडी कटेजमा आराम गरेर फर्किएका थिए।

सोमबार पत्नी सीताको उपचारका लागि प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकला सहित पारिवारिक टोलीले तीन दिनसम्म कुण्डमा दैनिक दुईपटक स्नानसँगै दाहाल र गृहमन्त्री थापाले पार्टीका कार्यकर्ता भेटघाट, प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिर, निर्माणाधीन अवस्थामा रहेको राहुघाट जलविद्युत् आयोजना, तातोपानीकै सरस्वती माविको अवलोकन गरेका थिए।

प्रकाशित: २८ कार्तिक २०७५ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App