७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुस्तायो नेकपा

काठमाडौ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माथिल्लो तहका छलफल तथा बैठकहरूमा सुस्तता आएको छ।

दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । त्यस यता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् । नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै सुस्ताएका थिए।

नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतबार इलाम जाने क्रममा विराटनगरमा प्रधानमन्त्रीको स्वास्थ्य र अन्य कतिपय नेताको व्यस्तताले पार्टीका कामकारबाहीमा सुस्तता आएको बताएका थिए । उनले पार्टी गतिविधि सुस्ताएको र सरकारको काम कारबाहीसमेत प्रभावकारी हुन नसकेको भन्दै तत्कालै स्थायी समितिको बैठक बोलाउनसमेत माग गरेका थिए।

यस विषयमा नेता खनालसँग कुरा गर्न खोज्दा उनले आफू इलाममा स्वच्छ वातावरणमा रहेको र पार्टीभित्रका दुषित विषयमा काठमाडौंको दुषित वातावरणमा फर्केपछि मात्र बोल्ने बताए । ‘अहिले इलामको वातावरण स्वच्छ छु, यस्तो वातावरणमा दुषित कुरा गर्नु उपयुक्त हुँदैन, काठमाडौ फर्किएपछि नै यो विषयमा कुरा गरौँला,’ उनले भने।

अहिले इलामको वातावरण स्वच्छ छु, यस्तो वातावरणमा दुषित कुरा गर्नु उपयुक्त हुँदैन, काठमाडौ फर्किएपछि नै यो विषयमा कुरा गरौँला।

                                                               – झलनाथ खनाल

नेकपामा दुई पार्टीबीच एकता भएपछि एकपटक पनि स्थायी समिति बैठक बस्न सकेको छैन । पार्टीको वैद्यानिक एवं शक्तिशाली निकाय मानिने स्थायी समिति बैठक बस्न नसकेकोप्रति नेकपामा असन्तुष्टि चुलिँदै गएको छ । नेकपाले पटकपटक स्थायी समितिको मिति तय गरे पनि आन्तरिक एकता तथा पछिल्लोपटक प्रधानमन्त्री बिरामी परेपछि बैठक स्थगित भएको थियो । दुई पार्टीबीच एकता भई बनेको नेकपाले लामो समय बितिसक्दा पनि पार्टी एकताको मर्मअनुसार काम गर्न नसकेको र एकता प्रक्रियासमेत टुंग्याउन नसकेको भन्दै शीर्ष तहमा समेत असन्तुष्टि बढ्न थालेको छ।

नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी पार्टीभित्रको जिम्मेवारी बाँडफाँटलगायतका विषय टुंगो लाग्न नसकेका कारण माथिल्लो तहका बैठक पनि बस्न नसकेको बताउँन् । ‘अहिले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, प्रदेश सदस्य, जिल्ला तथा स्थानीयस्तरमा समेत एकता टुंगिन बाँकी छ, त्यसको असर केन्द्रमा पनि परेको हो,’ रायमाझीले भने।

पार्टी गतिविधि सुस्त हुनुका पछाडि प्रधानमन्त्रीको स्वास्थ्य एउटा कारण भए पनि मुख्य कारण पार्टीको आन्तरिक एकता नटुंगिनु नै रहेको रायमाझी बताउँछन् । केन्द्रीय सदस्यको बाँडफाँट तथा प्रदेश सदस्य चयन गर्ने जिम्मा पाएको समितिले छिटो काम सकेपछि सचिवालय तथा स्थायी समिति बैठक बस्ने रायमाझीको भनाइ छ । रायमाझी पार्टी एकीकरण संगठानिक एकता मात्र नभएर वैचारिक एकता पनि भएकाले यसले लामो समय लिनसक्ने बताउँछन्।

नेकपाका एक केन्द्रीय सदस्य प्रदेश सदस्यको चयन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटमा दुषित मनसाय रहेकाले प्रक्रिया लम्बिएको दाबी गर्छन् । महत्वपूर्ण निर्णय गर्दा धेरै चरणका बैठक गर्नुपर्ने भए पनि बैठक नै नबसी प्रक्रिया लम्ब्याइरहेको उनको आरोप छ।

उनी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड र प्रदेश सदस्य चयनमा संयोजक महासचिव विष्णु पौडेलको भूमिका प्रभावकारी र अर्का संयोजक रामबहादुर थापाको भूमिका गौण रहेको दाबी गर्छन् । ‘रामबहादुर थापा पूर्व एमालेका बारेमा जानकारी नै नभएकाले कसलाई के जिम्मेवारी दिने भन्ने उहाँले निर्णय गर्न सक्ने कुरा भएन, तत्कालीन माओवादी केन्द्रमा पनि उहाँ लामो समयपछि मिसिनुभएको हो, त्यसैले उहाँको भूमिका प्रभावकारी हुने सम्भावना न्यून छ,’ उनले भने । नेकपाको कात्तिक ८ गते बसेको सचिवालय बैठकले प्रदेश सदस्यको टुंगो लगाउने र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाट गर्ने जिम्मा थापा र पौडेललाई दिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App