coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतसहितका देशमा राजदूत सिफारिस

काठमाडौं – सरकारले छिमेकी भारतसहित विभिन्न मुलुकमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको हो। राजनीतिक विश्लेषक एवम् पूर्वमन्त्री आचार्य नेपाल भारत प्रबुद्ध समूहका सदस्यसमेत हुन्।

यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको विषय विवादमा परेपछि सरकारले अहिले आचार्यलाई सिफारिस गरेको हो।

भारतका लागि नेपालका तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि राजीनामा दिएपछि सो पद रिक्त थियो। उपाध्याय कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए।
सरकारले मलेसियाको राजदूतमा उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतमा कृष्ण ढकालको नाम सिफारिस गरेको छ। यस्तै संयुक्त राष्ट्रसंघको जेनेभास्थित नियोग प्रमुखमा दीपक धिताललाई नै निरन्तरता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारले सिफारिस गरेको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राजदूत नियुक्ति प्रक्रिया संसदीय समिति हुँदै अघि बढ्छ।

बैठकले कर्मचारी समायोजन विधेयक स्वीकृतिका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषद् सदस्यमा पीताम्बर तिमल्सिना, सरोज गुरुङ र इन्दिरा निरौलालाई नियुक्त गरेको छ। बैठकले नागरिक लगानीकोषमा रमण नेपाललाई नियुक्त गरेको छ भने नेपाल प्रहरीकी डा. दुर्गा थापालाई एआइजीमा बढुवा गरेको छ। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय समयक्रमसँगै सार्वजनिक हुने बताए।

प्रकाशित: २६ कार्तिक २०७५ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App