७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाकै सांसदको माग : काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्छ

कञ्चनपुर– नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन्। निर्माण व्यवसायीले काम नगरेकै कारण देश विकासमा बाधा पुगेको भन्दै सांसद धामीले यस्ता कामचोरलाई छुट दिएर देश नबन्ने जिकिर गरे। 

‘टेण्डर लिने, समयमा काम पूरा नगर्ने ठेकेदारको पुरानो सिस्टम अब अन्त्य गर्नुपर्छ’, धर्मजनता माध्यामिक विद्यालय स्टेशनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘यस्ता देशद्रोही, अपराधीलाई दण्डित गर्नुपर्छ, विकासको गतिमा बाधा पुर्याउनेलाई छोड्नुहुन्न्।’ गृह मन्त्रालयले कामचोर ठेकेदारको नाम जिल्ला जिल्लाबाट मगाएर कारवाहीको प्रक्रिया अगाडि बढाउन ढिलाई गरिरहेका बेला सत्तारुढ नेकपाकै सांसदबाट कारवाहीको माग उठेको हो।

उनले कञ्चनपुरको २३ किलोमिटर दुरी भएको कलुवापुर–बैलौरी सडक खण्ड कालोपत्रे सुरु भएको ५ वर्ष वितिसक्दा समेत आधा पनि कालाेपत्रे नभएको उदाहरण प्रस्तुत गर्दै ठेक्का लिने र काम नगरी म्याद थप्ने ठेकेदारलाई कठघरामा ल्याउनुको विकल्प नभएको बताए।

निर्मला पन्त हत्या प्रकरणमा सरकारले विभिन्न छानविन समिति बनाएर अनुसन्धान गरिरहेको बताउँदै सांसद धामीले हत्यारा पत्ता लगाएर छाड्ने स्पष्ट पारे। ‘यहाँ सरकारले के गर्यो निर्मलाको मुद्दामा भन्ने प्रश्न आएका छन्’, उनले भने, ‘सरकारले प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ। विभिन्न समिति बनाएर सुक्ष्म छानविन गरिरहेको छ। अपराधी छिट्टै पत्ता लाग्छ। जो सुकै भएपनि कारवाही गर्छाैं।’

उनले कानुन बनाएर ऐलानी जग्गाधनीलाई लालपूर्जा दिने, आरक्ष पीडित, सुकुम्बासीको समस्या समाधान गर्ने, नदी नियन्त्रण, हात्ती आक्रमण नियन्त्रणका लागि आफूले पहल गरिरहेको जानकारी गराउँदै यी समस्यालाई एकै साथ समाप्तिको दिशामा लगिने प्रतिबद्धता जनाए। उनले आफूहरु अहिले कानुन निर्माणको चरणमा रहेको बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ साकार पार्न सरकार तत्पर रहेको दाबी गरे। ‘वृद्ध भत्ता बढाउन सरकार तत्पर छ। नयाँ आर्थिक वर्षसम्म वृद्धभत्ता ५ हजार पुग्छ’, उनले भने।  

‘भ्रष्टाचारसहितको समृद्धि हुँदैन’
नेकपाका अर्का नेता एवं सुदूरपश्चिम प्रदेशका सांसद महेशदत्त जोशीले भ्रष्टाचार सँग सँगै समृद्धि र विकास अघि नबढ्ने बताए। उनले भ्रष्टाचारीलाई कारवाही गर्न माग समेत गरे। ‘हाम्रो दुस्मनी गरिबी र भ्रष्टाचारसँग हो’, उनले कार्यक्रममा भने, ‘भ्रष्टाचारसहितको समृद्धि र कुसंस्कार सहितको परिवर्तन हुँदैन।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता पनि जनाए। 

जनताले तीव्र विकास चाहेको भन्दै सांसद जोशीले यसका लागि तीनै तहको सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ‘सरकारलाई म भर्खरै आएको हुँ, एक महिना मात्र भयो भन्ने छ। जनतालाई सरकार आएको ३६ महिना जस्तो लागेको छ। इसको तारतम्य मिलाउनुपर्ने छ’, उनले भने, ‘जनताको आशा वेवास्ता गर्ने छुट कुनै सरकारलाई छैन्।’ यदि सरकारले काम गरेनन र जनतामा आशा म¥यो भने मुलुक ठूलो संकटमा पर्ने उनको चेतावनी छ। 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, संविधान सभाका पूर्व सदस्य कृपाराम राना, प्रदेशसभा सांसद लालबहादुर खड्का, शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐर, विद्यालयका अध्यक्ष प्रेम धानुक लगायतले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै, सुप कला केन्द्र र विद्यालयका तर्फबाट सांस्कृतिक प्रस्तुति राखिएको थियो। 

 

प्रकाशित: २० कार्तिक २०७५ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App