coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहजिल्ला पुगेर भट्टराईले भनेः नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो

तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्।

गृह जिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले आइतबार बिहान फुङ्लिङ नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालका लागि अहिलेको व्यवस्था सबैभन्दा उत्कृष्ट भएकोले संविधानको घेराभन्दा बाहिर जान खोज्नेले गतिलो लय नसमाती रहेको बताए। ‘यही व्यवस्था भित्र बसेर आफ्ना फरक मत दर्ज गर्नु बाहेक छुट्टै क्रान्तिका कुरा गर्नु सुहाउँदिलो विषय होइन,’भट्टराईले भने। उनले २००७ साल देखिका क्रान्ति कालान्तरमा समय सापेक्ष सच्चिदै र परिमार्जन हुँदै अहिलेसम्मको अवस्थामा आएकोले अब अर्को क्रान्तिको कुरा जनतालाई पाच्य नहुने जिकिर गरे।

‘नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो’ जनयुद्ध र जनआन्दोलन २०६२–०६३ प्रति लक्षित गर्दै भट्टराईले भने, ‘जनताले नेपालको संविधान २०७२ मार्फत आफू सर्वोपरी हुने गरी राजनीतिक तथा नागरिक अधिकार पाइसकेकाले फेरी क्रान्तिको आवश्यकता र औचित्य छैन।’ नेता भट्टराईले नागरिक अधिकार सहितको लोकतन्त्र जनताका साथमा स्थापित भइसकेकोले अब गरिबी, अशिक्षा र पच्छ्यौटेपनका विरुद्ध एक भएर लड्न आवश्यक रहेको औंल्याए। केहिले तत्कालका दैनिक आवश्यकतालाई हेरेर ठूला विकासका योजनालाई ‘हावादारी सपना’को रुपमा बुझेपनि बर्तमान सरकारले अघि सारेका योजना र बुनेका सपना पूरा हुनेमा शंका गर्न आवश्यक नरहेको उनको भनाई थियो।

‘जनतालाई अहिले सिटामोल चाहिएको छ,हातमुख जोर्ने मेलो चाहिएको छ, शिक्षा र स्वास्थ्यका न्यूनतम पूर्वाधार चाहिएको छ’ उनले भने, ‘यि आवश्यकता पूरा गर्दै बर्तमान सरकारले अघि सारेका समृद्धिका ठूला योजनालाई हामी हावादारी भन्न नमिल्नेगरी काम गरेर देखाउँछौं’। उनले उत्तर–दक्षिण जोड्ने सडक, रेल र सामुन्द्रीक मार्गलाई समृद्धिका ठूला योजना भनेका छन्। सरकारले जनतालाई मर्म र प्राथमिकतालाई योजनाबद्ध ढंगलबाट सम्बोधन गर्नेगरी योजना बनिरहेको बताएका नेता भट्टराईले समृद्धिको परिणाम तत्कालै र एकैपटक घ्वाप्पै नदेखिने भएकोले धैर्य गर्न आग्रह पनि गरेका छन्।

संघीय, प्रदेश र स्थानीय ३ तहको संरचनापछि हरेक सरकार आ–आफूमा स्वायत्त रहेकोले एकले अर्कोलाई नियन्त्रणमा राख्न नसक्ने भट्टराईको भनाई छ। अझैपनि मुलुक संक्रमणकालमै रहेकोले केहि नीतिगत व्यवस्था ठोस नहुँदासम्म जनतामा अन्योलता कायम रहिरहने उनले बताए। यसलाई ठोस बनाउन र जनतामा छरिएको अन्योलता अन्त्य गर्न तीनैतहका सरकारले प्रभावकारी कार्य सम्पादन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

नेता भट्टराईले ३ तहमध्ये स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्ध र पहुँच स्थापित गर्न सक्ने प्रभावकारी संयन्त्र भएकोले साना–तिना योजना स्थानीय सरकार आफैंले सञ्चालन गर्ने र प्रदेश तथा केन्द्र सरकारले ठूला योजनामा मात्र ध्यान दिनेगरी बजेट बनाउन राज्य संयन्त्रमा छलफल चलिरहेको खुलाए। सरकार नेतृत्वकर्ता दल नेकपा भित्र पनि यसका बारेमा बहस र छलफल सुरु भएको भट्टराईले बताए।

कम्युनिष्टको एकताबाट तर्सिएका केहिले सरकारलाई असफल बनाउने छिद्रहरू खोजीरहेपनि त्यो पूरा हुन नदिने उनको भनाई थियो। आगामी निर्वाचनमा आउँदा समृद्धिका लागि अघि सारिएका योजना तथा पूर्वाधारको परिणाम पनिसँगै लिएर आउने भट्टराईको बाचा थियो। कार्यक्रममा प्रदेश नम्बर १ मा नेकपाका संसदीय दलका उपनेता समेत रहेका टंक आङ्वुहाङ, प्रदेशसभा सदस्यद्धय बलबहादुर साम्सोहाङ र प्रतापप्रकाश हाङ्गाम लगायतले बोलेका थिए।

प्रकाशित: १८ कार्तिक २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App