१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थानीय तहमा कर्मचारीबीच द्वन्द्व

धरान - संघीय सरकारले सहसचिवमा बढुवा गरेर सुमन घिमिरेलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो। २०७५ जेठ १६ मा धरान आएका उनी करिब ५ महिना मात्र बसे। आफैंले मन्त्रालयमा सरुवा मिलाएर कात्तिक १२ गते उनी धरानबाट विदा भए।

निजामति कर्मचारी सरुवा हुनु सामान्य प्रक्रिया हो। तर, सहसचिव घिमिरेको सरुवा असमान्य किसिमको थियो। सरुवा हुनुअघि नै अब उनी धरानमा रहँदैनन् भन्ने अनुमान सबैले लगाउन थालिसकेका थिए। यसको मुख्य कारण थियो, धरान उपमहानगरपालिकाका कर्मचारीको वृत्ति विकाससम्बन्धी कार्यविधि २०७५ ।

निजामती आउँछन्, जान्छन् भन्ने हल्ला पिटाइएको छ, तर किन टिकेनन् भनेर जनप्रतिनिधिले पनि सोचेका छैनन्।

गत भदौ अन्तिम साता बसेको नगर कार्यपालिकाको २० औं बैठकमा वृत्ति विकाससम्बन्धी कार्यविधि अजेन्डाका रूपमा प्रस्तुत गरिएको थियो। निजामतीका उपसचिवलाई ८ औं तहमा सीमित राख्ने गरी स्थानीय कर्मचारीलाई बढुवा गर्न ल्याइएको कार्यविधिप्रति सहसचिव घिमिरे सहमत थिए। संघीय सरकारले कर्मचारी समायोजन गर्न ऐन मस्यौदा गरिरहेको कारण स्थानीय तहले हतारमा बढुवा कार्यविधि ल्याउन नहुने उनको तर्क थियो। उक्त कार्यपालिका बैठकको निर्णयमा उनले हस्ताक्षर गरेनन्। सो बैठकको निर्णयहरु प्रमाणिकरण नभई प्रमुख प्रशासकीय अधिकृत घिमिरे सरुवा भए।

त्यसो त नगर कार्यपालिकाको १९ औं बैठकको निर्णय पनि प्रमाणीकरण भएको छैन । बैठकमा धरान उपमहानरपालिकामा ८ तहसम्म मात्र दरबन्दी सिर्जना गर्ने संगठन संरचनाको प्रस्ताव लगिएको थियाे। घिमिरेले त्यसमा पनि असन्तुष्टि जनाउँदै निर्णयमा हस्ताक्षर गरेनन्। त्यो बैठकको निर्णय अहिलेसम्म प्रमाणीकरण नै भएको छैन । झट्ट हेर्दा संगठन संरचना र कर्मचारी बढुवा कार्यविधिबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत घिमिरेबीच विवाद जस्तो देखिए पनि विवादको चुरो भने साविक स्थानीय निकायका कर्मचारी र समायोजनबिना संघीय सरकारले पठाएको निजामती कर्मचारीबीचको द्वन्द्व हो। संघीय सरकारले समयमै कर्मचारी समायोजन गर्न नसक्दा अहिले स्थानीय तहमा निजामति र स्थानीय कर्मचारीबीच द्धन्द सृर्जना भएको छ। जसको असर सेवा प्रवाहमा पनि परेको छ।

तह मिलानबिना पठाइएका निजामतीका अधिकृत र स्थानीयका अधिकृतस्तरका कर्मचारीबीच को ठूलो भन्ने द्वन्द्व स्थानीय तहमा चलिरहेको छ। धरानमा निजामतीका उपसचिवहरूलाई आउनबाट रोक्ने गरी वृत्ति विकास कार्यविधि ल्याइएकोप्रति प्रमुख प्रशासकीय अधिकृत मात्र होइन, सरकारले पठाएका अन्य निजमती कर्मचारीमा पनि तीव्र असन्तुष्टि थियो। सो कार्यविधि पारित भए उपसचिव आठौं तहमा नै समेटिन्थे । संघीय सरकारले ऐन, नियमावली समयमा नै बनाएर कर्मचारी समायोजन गर्न नसक्दा स्थानीय तहमा समस्या सिर्जना भएको धरान उपमहानगरका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणिराम राई बताउँछन्। ‘माथिबाट आउने कर्मचारी हामी निजामती हौं भन्ने छ, स्थानीयमा कार्यरत पहिलादेखिकै कर्मचारीको मनोबल गिरेको अनूभूति गरिरहेका छन्,’ प्रवक्ता राई भन्छन्, ‘एक खालको द्वन्द्व देखिएको छ, संघीय सरकारले समायोजन गरेर चाडो तह मिलान गर्नुपर्छ । नत्र समस्या झनै बढ्दै जान्छ।’

निजमतीबाट आएका कर्मचारी भने स्थानीय तहमा काम गर्ने सहज वातावरण नभएको बताउँछन्। धरानमा आएका ३ जना निजामतीका अधिकृतहरू धेरै समय टिक्न सकेनन् । योजना शाखाका श्यामकुमार राई, खरीद शाखाका तुलसीराम भगत, न्यायिक समितिका वसन्त गिरी सरुवा मिलाएर गइसकेका छन् भने कात्तिक १२ गते नै एक मात्र कृषि विज्ञ पनि सरुवा भए । ‘निजामती आउँछन्, जान्छन् भन्ने हल्ला पिटाइएको छ, तर किन टिकेनन् ? भनेर जनप्रतिनिधिले पनि सोचेका छैनन्,’ एक निजामती अधिकृत भन्छन्,‘अहिले स्थानीय निकाय पनि नरहेको र समायोजन पनि भइनसकेको संक्रमणको अवस्था हो। २२, २३ वटा कार्यालय आएको छ, यो बेला नेतृत्वले सबैलाई समेट्न सक्नुपर्ने हो, तर त्यस्तो हुन सकेन। हामीलाई काम गर्ने वातावरण नै बनेन।’ निजामतीबाट आएका अधिकृतस्तरका कर्मचारीलाई सुरुमा बस्ने कुर्सी पनि नदिएर सौतेनी व्यवहार गरिएको उनको गुनासो छ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य एवं धरान उपमहानगरका कर निरीक्षक(अधिकृत) शारदाप्रसाद भट्टराई संघीय सरकारले स्थानीय कर्मचारीलाई बेवास्ता गरेर निजामतीलाई मात्र प्राथमिकता दिएकोले द्वन्द्व सिर्जना भएको बताउँछन् । दुई दशकसम्म स्थानीय निकायमा सेवा गरेर बचाएको सक्षम कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारी बनाउने प्रयत्न भइरहेको उनले बताए । ‘बीस वर्षसम्म स्थानीय निकाय बचाउने हामी कर्मचारीलाई निरुत्साहित हुने गरी संघीय सरकारले कानुन बनाउँदैछ । स्थानीयको छैटौं तहको अधिकृत बढुवा हुनै नपाउने, निजामतीको शाखा अधिकृत आठौं तह भएर आउने ?,’ उनले भने, ‘१० वर्ष काम गरेको र बिए पास गरेको भए निजमतीमा खरदार एकैचोटी अधिकृत हुने भयो।’

प्रकाशित: १८ कार्तिक २०७५ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App