८ वैशाख २०८१ शनिबार
राजनीति

विष्ट र भट्टलाई बर्खास्तको तयारी

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र एआइजी धिरु बस्न्यातको अनुसन्धानलाई समेत आधार मानेर प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई समेत ‘मिस गाइड’ गरेको ठहर गर्दे गृहले दुवै प्रहरी अधिकृतलाई वर्खास्तीका लागि पहिलो स्पष्टीकरण सोधेको हो । सो स्पष्टीकरणपछि गृहले उनीहरुसँग आवश्यक सोधपुछका लागि प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरिसकेको छ । केही दिनपछि उनीहरुसँग बयान लिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

गृहका अनुसार उनीहरुलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले आइतबार सिफारिस गरेपछि स्पष्टीकरणसहित वयानको प्रक्रिया अघि बढाएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार उनीहरुलाई कानुुन बमोजिम कारबाही प्रक्रिया अघि बढाएको बताए । ‘कानुनले दिएको अधिकार अनुसार दुवै प्रहरी अधिकृतलाई गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ,’ सहसचिव सुवेदीले भने।

जिल्ला प्रहरी कार्यालय प्रमुखकको रुपमा रहेका विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत भट्ट दुवैले माथिल्लो निकायलाई ‘मिस गाइड’ गरेको, घटनास्थल जोगाउन नसकेको र अनुसन्धानमा चरम लापरबाही गरेको कारण देखाई प्रहरी प्रधान कार्यालयले उनीहरुलाई प्रहरी सेवामा अयोग्य रहेको जनाउँदै वर्खास्त गर्न सिफारिस गरेको हो । इन्चार्जको हिसाबले उनीहरूलाई मुख्य जिम्मेवारका रूपमा लिई बर्खास्त गर्न लागिएको गृहले जनाएको छ।

प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाका अनुसार उनीहरुको बर्खास्तको लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको छ । प्रहरी नियमावली अनुसार नै उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए । ‘गृहले बनाएको उच्च स्तरीय छानबिन समितिले दिएको प्रतिवेदन र प्रहरी प्रधान कार्यालयले बनाएको छानबिन समितिले दिएको रायलाई आधार मानेर उनीहरुलाई बर्खास्तको लागि सिफारिस गरिएको छ,’ डिआइजी थापाले भने।

कञ्चनपुुर घटनामा जिल्ला प्रहरी कार्यालयले दिएको रिपोर्टको आधारमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र प्रधामन्त्री कार्यालयलाई समेत रिपोटिङ गर्दा एसपी विष्टको भनाइलाई आधार मानिएको थियो । ‘सुरुमा जिल्ला प्रहरी कार्यालयको भनाइलाई आधार मानियो । त्यही आधारमा माथिल्लो निकायमा समेत बिफ्रङ भयो । जस्ले गर्दा घटनाको अनुसन्धान समेत प्रभावित पार्न खोजिएको देखिँदा प्रहरी संगठन समेत इतिहासमै बद्नाम भयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘यस्ता प्रहरी अधिकृतकै कारण सिंगो ७५ हजार प्रहरीको शिर झुकेको छ।’

दुवै प्रहरी अधिकारीलाई प्रहरी नियमावली २०७१ को नियम ११३ (क) अनुसार कारबाही थालिएको हो । प्रहरी नियमावलीको नियम ११३ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार विष्ट र भट्टमाथि कारबाही प्रक्रिया चलिरहेको गृह मन्त्रालयले जनाएको छ । सो नियमको उपनियम ‘क’ अनुसार आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेको आरोपमा दुवै प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्तको तयारी भइरहेको स्रोतले जनाएको छ।

निर्मला हत्या प्रकरणमा एसपी र इन्स्पेक्टरबाहेक एक दर्जन प्रहरीमाथि पनि विभागीय कारबाही गर्न लागिएको छ । आठ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । एसपी विष्टसहित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय रामसिंह धामी र हरिशरण धामी तथा प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको थियो । सिआइवीको टोलीले स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरी उनको डिएनए परीक्षण नगराउँदासम्म सार्वजनिक नगर्न दिएको सल्लाहलाई समेत वेवास्ता गरिएको तथा घटनास्थलमा भएका सबुद प्रमाण नष्ट पारिएको अभियोगमा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गर्न लागेको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ।

गत १० साउनमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५ औं दिनमा स्थानीय युवक दीलिपसिंह विष्टलाई प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । एसपी विष्टले निज विष्टको डिएनए परीक्षण गर्नुभन्दा अभियुक्तका रुपमा सार्वजनिक गरेपछि उनको डिएनए परीक्षण गर्दा डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । स्थानीय दीलिप विष्ट अभियुक्तको रुपमा सार्वजनिक भएपछि स्थानीय बासिन्दाले मानसिक रोगीलाई प्रहरीले अभियुक्त बनाएर वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन गरेका थिए।

गृह मन्त्रालयको प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख गरेको छ । ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ,’ समितिले प्रतिवेदनमा घटना विवरण उल्लेख गर्दै भनेको छ । ‘तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विष्टको व्यवहार कार्यशैलीका कारण आमनागरिक र पीडित परिवार प्रहरीको काम कारबाहीप्रति विश्वस्त हुन नसकेको तथा मृतकको शव अत्यष्टी गर्ने समयमा पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिहरुले धाक धम्की दिएका थिए,’ सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

एसपी विष्टको हकमा कार्यक्षेत्रभित्र गम्भीर प्रक्रियाको घटना भएकाले त्यसलाई छानबिन गरी विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । त्यस्तै, एआइजी बस्न्यात मातहतमा रहेको कानुन विभागका प्रमुख एसपी डा. गणेश रेग्मीको सिफारिसमा पनि उनले प्रहरी अधिकृतका रुपमा दायित्व पूरा नगरी माथिल्लो निकायलाई ‘मिस गाइड’ गरेका कारण अनुसन्धानमा गम्भीर असर परेको समेत उल्लेख गरिएको स्रोतले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App