७ वैशाख २०८१ शुक्रबार
राजनीति

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री अाेली

भद्रपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन्। आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनकाे भनार्इ छ। 

दसैंका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीवार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ।” 

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उनले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भने, “मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ।” 

ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए। “धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “दुईवर्ष भित्र काठमाडौंका सडक सफा भइसक्छन्।”

ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताए। नेपालको संयुक्त परिवार प्रणाली विश्व मै अनुपम रहेको र यसले आत्मीयताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। “हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्भाव कायम गरेका छन्” ओलीलले भने, “चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो। त्यो कामना वर्तमान सरकारले पुरा गर्छ।”

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो। 

प्रकाशित: १ कार्तिक २०७५ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App