१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसद, पार्टी र सरकारभित्र वामदेव गौतमकाे आवश्यकता छ : सांसद झाँक्री

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन्। 

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद झाँक्रीले पार्टीको लागि या पार्टीका नेतालाई के–के जिम्मेवारी दिने भन्ने कुरा र व्यवस्थालाई कतातिर लैजाने भन्ने कुरा पार्टीका नेताहरु अथवा केन्द्रिय कमिटीले निर्णय गर्ने बताइन। नेतृ झाँक्रीले नेता गौतमको आवश्यकता संसद, सरकार र पार्टीमा पनि रहेको उल्लेख गर्दै गौतमलाई संसदमा ल्याउँदा फाइदा हुने जिकिर गरिन्। 

उनले वामदेव गौतम चुनाव लड्ने वा नलड्ने भन्ने विषय वा बहसबारे प्रतिक्रिया दिँदै भनिन्, ‘अब उहाँ चुनाव लड्ने वा नलड्ने विषय, कुन क्षेत्र खाली गर्ने, उक्त क्षेत्र चुनाव जित्ने सुनिश्चित छ की छैन भन्ने आधारमा र अर्को वस्तुगत यथार्थ त्यो हो कि होइन भन्ने कुरा पार्टीले विश्लेषण गर्नुपर्छ। वामदेव गौतम संसदमा आवश्यक छ कि छैन भन्ने कुरा एक जना महत्वपूर्ण व्यक्तिको आवश्यक सँधै र सबै ठाउँमा हुन्छ।’

उनले वामदेव गौतमको आवश्यकता छैन भनेर आफूजस्तो नेताहरुले भन्ने दिन आज नआएको पनि स्पष्ट पारिन्। उनले भनिन्, ‘वामदेव गौतमको आवश्यकत्ता आज पनि जरुर छ। पार्टीभित्र छ, संसदभित्र छ, र सरकारमा पनि छ। राजनीतिक विचार निर्माण गर्नपनि उहाँको आवश्कता छ।’

कार्यक्रममा नेकपाकै केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य राजेन्द्र राईले साधारण भूमिकाको लागि मात्रै वामदेव गौतमलाई संसदमा लैजान जरुरी नभएको स्पष्ट पारे। उनले भने, ‘साधारण भूमिकामा उहाँलाई संसदमा लैजान जरुरी छैन। असाधारण भूमिका छ भने लैजानुपर्छ। यदि उहाँलाई संसदमा लैजाने भनेर पार्टीका शीर्ष नेताहरुबीच सहमति भएको छ भने लैजानुपर्छ।’

उनले पार्टीका नेताहरुले वामदेव गौतमको असाधारण भूमिकाबारे भनेर वा गरेर पुष्टि गर्नुपर्ने पनि स्पष्ट पारे। उनले थपे, ‘अहिले भन्न मिल्छ भने अहिले नै भन्नुपर्यो। केही समय लाग्छ भने त्यो पनि कुरेर भएपनि भन्नुपर्यो। वामदेव गौतमलाई विशेष जिम्मा दिनेगरि लैजानुपर्छ। यतिकै सांसदमात्रै बनाउनको लागि लैजानुहुँदैन्।’ 

मुलुकको विकास, समृद्धि र देशलाई अगाडि बढाउनको लागि नेता गौतमको भूमिका अत्यन्तै आवश्यक रहेको उनको भनाई छ। उनले भने, ‘देशलाई पार लगाउनको लागि उहाँको भूमिका आवश्यक छ। तर, उहाँको भोलिको भूमिका पुष्टि गरेरमात्रै उहाँलाई संसदमा ल्याउनुपर्छ।’

प्रकाशित: २५ आश्विन २०७५ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App