७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘हिजो विपी असफल हुँदा दुःख पायौं, आज ओली असफल भए फेरि दुःख पाउँछौं’

पोखरा– गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले वर्तमान सरकार असफल भए देश फेरि अस्थिरतातर्फ धकेलिने बताएका छन्। पुष्पकमल सुवेदी प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा नेपालमा कृषिको विकास : सम्भावना र चुनौती विषय अन्तरक्रिया कार्यक्रमलाई शनिवार पोखरामा सम्बोधन गर्दै सांसद पहारीले अस्थिरताको अन्त्यका लागि सबै मिलेर समृद्ध देश बनाउनुपर्नेमा जोड दिए। ‘हिजो विपी कोइरालाको बहुमतको सरकार विभिन्न कारणले असफल हुँदा लामो समयसम्म देशले संकट भोग्नुपर्यो’, उनले भने, ‘अहिले कम्युनिस्टको दुई तिहाईको सरकार छ, कता कता सत्ताको रातो कार्पेटमा चिप्लिन्छ की भन्ने चिन्ता लाग्छ, आज केपी ओली असफल भए फेरि देशमा संकट आउँछ। फेरि हामी दुःख पाउँछौं, त्यसकारण सबै मिलेर समृद्ध देश बनाउनुपर्छ।’

उनले तीन तहको सरकार रफ्तारमा जान नसकेको भन्दै संघीयताको जग तयार भइरहेको बताए। सांसद पहारीले साहित्यमा मोतीलाल भट्ट जस्तै सामाजिक राजनीतिक क्रान्तिमा पुष्पकमलको योगदान रहेको उनले देखेका योजना, सपना र भविष्य पुरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे। 

व्यवसायिकरणका नाममा कृषिमा व्यापारीकरण गर्ने प्रवृति हावी भएको भन्दै पहारीले कृषिलाई आम नागरिकको खाद्य सम्प्रभुताको विषय बनाउनुपर्नेमा जोड दिए। ‘कृषिको विकास लागि आउने अनुदानमा विचौलियाहरु हावी भएका छन्। जसको शक्ति पहुँच उसले पाएको छ। गरिखाने, माटोसँग श्रम गर्नेले नपाउने अवस्था छ। राज्यको लगानीको दुरुपयोग भएको छ। तसर्थ कृषिलाई नाफामुलक क्षेत्रका रुपमा मात्र हेर्न हुँदैन्’, पहारीले भने। कृषि सामाजिक उद्यमका रुपमा नरहने हो कि भन्ने खतरा बढेको भन्दै उनले आर्थिक मेरुदण्डको रुपमा रहेको कृषिको विकासका लागि प्रदेश सरकारले बजेटमा समेटेको र कार्यक्रमहरु समेत ल्याएको जानकारी गराए। उनले कृषि सामग्रीको आयात, कृषियोग्य जमिनको खण्डिकरणमा रोक लगाउन पहल गर्ने प्रतिबद्धता समेत जनाए।

 

प्रकाशित: २० आश्विन २०७५ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App