८ वैशाख २०८१ शनिबार
राजनीति

विवेकशील साझा पार्टीको सुदूरपश्चिममा बृहत् प्रशिक्षण, विभिन्न ठाउँमा आम सभा हुँदै

काठमाडौं – विवेकशील साझा पार्टी देश दौडाहमा निस्किएको छ। पार्टीले दसैँअघि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा कार्यक्रमहरू गर्ने बताएको छ।

प्राय राजनैतिक दलका कार्यक्रमहरू चुनावमुखी हुन्छन् अनि चुनाव सकेपछि जित्ने ठुला दल सत्तामा लाग्छन् भने साना दल कहाँ हराउँछन् कहाँ। गत संसदीय निर्वाचनमा ४ राष्ट्रिय पार्टीपछि केही हजार मात्र मतले राष्ट्रिय पार्टी बन्न चुकेको विवेकशील साझा पार्टीले भर्खरै सुदूरपश्चिम प्रदेशमा आफ्ना सदस्य र नेताहरूलाई प्रशिक्षण दिएको छ। कार्यक्रममा करिब ६०० पार्टी सदस्य र नेताहरूले प्रशिक्षण लिएको विवेकशील साझा पार्टीको सुदूरपश्चिम सचिवालयले जनाएको छ।

कार्यक्रममा पार्टी संयोजक रवीन्द्र मिश्र, अर्का संयोजक उज्वल थापा, केन्द्रीय नेताहरू रमेश पौड्याल, केशव दाहाल र सुदूरपश्चिमका संयोजक गोपाल हमलाको उपस्थिति थियो। यही दौरान दर्जनौं नयाँ व्यक्तिहरूले पनि सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए। विवेकशील साझा पार्टीका नेताहरूले विभिन्न जिल्लामा विभिन्न कार्यक्रम मार्फत उक्त प्रदेशका बुद्धिजीवी, नागरिक समूह र पत्रकारहरूसँग भेटनुका साथै अन्तरक्रिया समेत गरेका थिए।

सुदूरपश्चिमको कार्यक्रम सकेर केन्द्रीय नेतृत्व कर्णाली प्रदेशका कार्यक्रमहरूको लागि निस्किएको छ। आजै कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा पार्टीले आम सभा समेत गरेको छ। कार्यक्रममा विवेकशील साझा पार्टीका सदस्य र शुभेच्छुकहरू दुर्गमबाट आउने क्रम जारी रहेको कर्णाली प्रदेशको सचिवालयले जनाएको छ। उक्त कार्यक्रममा करिब २ दिन हिँडेर २ दिन गाडीमा गरेर सहभागी हुन आएकी हिसे सामु लामाको दृढता देखेर आफु भावुक भएको कुरा रवीन्द्र मिश्रले आफ्नो फेसबुकमा समेत राखेका छन्।

अहिले विवेकशील साझा पार्टी ९० दिने सङ्गठन विस्तार अभियानमा रहेको बताइएको छ। अहिले सुदूरपश्चिम प्रदेशलाई गोपाल हमाल, कर्णाली प्रदेशलाई गेहेन्द्र दाहाल अनि प्रदेश ५ लाई अनुपमान सैंजुले नेतृत्व गर्दै छन्। विवेकशील साझा पार्टीले प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा प्रदेश संयोजक तोकिसकेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App