७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान नमान्ने तत्वहरु प्रदेशका सुरक्षा चुनौती : मुख्यमन्त्री पाेखरेल

रुपन्देही - प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले संविधान नमान्ने तत्वहरु प्रदेशको सुरक्षा चुनौतीका रुपमा रहेको बताएका छन्। बुटवलमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आन्तरिक सुरक्षा व्यवस्था मजबुद बनाउनका लागि १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, नेपाली सेना, शसस्त्र र अनुसन्धान ब्यूरोसँग सुरक्षा रणनितिका बारेमा गरेकाेल छलफल कार्यक्रमलार्इ सम्बाेधन गर्दै पाेखरेलले भने ‘संविधान मान्दैनौं भन्ने संगठन, समूह देखिन्छ, यसलाई नियन्त्रण गर्नुपर्छ।’ मुख्यमन्त्री पाेखरेलले अधिकारमुखी राजनीति सकिएकाले संविधान अनुसार नै समस्याको समाधान खोजिनुपर्ने बताए। प्रदेश ५ सरकारप्रति जनताको आशा र विश्वास बढ्दै गएको बताउँदै पाेखरेलले भने ‘७ महिनामै जनताले प्रदेश सरकारलाई खोज्न थालेका छन् यो हाम्रो सफलता हो, शान्ति सुरक्षामा पनि प्रदेश सरकारको खोजी भइरहेको छ, यो सकरात्मक छ।’

मुख्यमन्त्री पोखरेलले अहिले कञ्चनपुरको घटनापछि प्रहरी प्रशासनप्रति विश्वास गुमेकाले त्यस्तो अवस्था आउन नदिन आग्रह गरे। जनताको विश्वास जित्ने गरि सुरक्षा निकायलाई परिचालन हुन आग्रह गर्दै उनले ५ नम्बर प्रदेश शान्ति सुरक्षामा सक्षम रहेको बताए।

प्रदेश ५ सरकारले सुरक्षा योेजना बनाउन समेत सुरु गरेको छ। यसका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आन्तरिक सुरक्षा व्यवस्था मजबुद बनाउन १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, नेपाली सेना, शसस्त्र र अनुसन्धान ब्यूरोसँग सुरक्षा रणनितिका बारेमा छलफल थालेको छ। प्रदेश सरकारले सुरक्षा अंगको परिचालन तथा प्रदेशको सुरक्षा प्रशासन,  आन्तरिक सुरक्षालाई मध्यनजर गरेर छलफल शुरु गरेको आन्तरिक मन्त्रालयले जनाएको छ। सरकारले बुधवार बुटवलमा १२ वटै जिल्लाका प्रशासन र सुरक्षा निकायका प्रमुखसँग सुरक्षाको बिषयमा छलफल गरेको छ। 

 

प्रकाशित: १७ आश्विन २०७५ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App