७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्मला हत्या प्रकरण : छानविन समितिका सदस्य केसीमाथि आक्रमण

धनगढी– कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। काठमाडौंबाट आज कैलाली आएका केसीमाथि धनगढीतर्फ आउँदै गर्दा बोराडाडीमा आक्रमण भएको हो।

केसी प्रदेश ७ को कानुन मन्त्रालयको बा १ झ ९७०३ नम्बरको गाडीमा धनगढीतर्फ आउँदै थिए। त्यहीँ क्रममा मोटर साइकलमा आएका दुई जनाले बाेराडाडीमा गाडीमा पछाडीबाट ढुंगा प्रहार गरेकाे उनले बताए। ढुंगा केसीको टाउको लागेको छ। केसीले ढुंगाले गहिरो चोट नलागेपछि टाउको दुखिरहेको बताए। उनी अहिले घरमै आराम गरिरहेका छन्। 

गाडीमा आक्रमण हुँदा केसीसँग २ जना सुरक्षाकर्मी र एकजना कानुन अधिकृत सँगै थिए। स्थानीय प्रशासनले ढुंगा प्रहार गर्ने मान्छे को भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको जनाएको छ। 

केसी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त घटनाको छानविनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानविन समितिका सदस्य हुन्। उनले यसअघि अनुसन्धानमा चित्त नबुझेको र धम्की आएको भन्दै राजीनामा दिएका थिए। तर गृहमन्त्री रामबहादुर थापासँगको छलफल पछि राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किएका थिए। 

प्रकाशित: १४ आश्विन २०७५ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App