८ वैशाख २०८१ शनिबार
राजनीति

नाम सुदूरपश्चिम प्रदेश र राजधानी गोदावारी प्रस्ताव

धनगढी - संसद्ले नाम र राजधानीको स्थान तोक्न गठन गरेको विशेष सुझाव समितिले प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी नगरपालिका’ क्षेत्रमा राख्ने प्रतिबेदन संसद्मा पेस गरेको छ।

प्रदेशसभाको मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले राजधानी गोदावरी–४ तेघरीमा र सुदूरपश्चिम नाम राख्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्। पेस भएको प्रतिवेदनका आधारमा बुधवार संसद्मा प्रस्ताव प्रस्तुत गरेपछि छलफल गरिने प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताएका छन्। समितिले भदौ ५ गते सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेस गरे पनि नाम र राजधानीमा सहमति नजुट्दा एक महिना ढिलो पेस भएको हो। संसद्मा बुधवार प्रस्ताव प्रस्तुत भएपछि सासंदहरूले संशोेधन प्रस्ताव दर्ता गर्न सक्ने छन्।

अधिकांशबाट सुदूरपश्चिम नाम राख्न र गोदावरी क्षेत्रमा स्थायी राजधानी बनाउन सुझाव आएको समितिका संयोजक तामाङले बताए। ‘सुदूरपश्चिम, खप्तड, महाकाली, सेती–महाकाली, पश्चिम, सेती काली, अपी–सैपाल, डोटी र घोडाघोडी जस्ता नाम आए पनि अधिकांशले सुदूरपश्चिम राख्न सुझाव दिएका थिए,’ संसद्मा उनले भने। प्रदेशको विकास, समृद्धि, एकता र संस्कृतिलाई दृष्टिगत गरी प्रदेशको नाम राखिएको उनको भनाइ छ।

सुदुरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल रहेकोमा तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री रहेको सरकारले अस्थायी राजधानी धनगढी तोकेको थियो। धनगढी अस्थाइ राजधानी भएपछि दिपायलका बासिन्दाले विरोध प्रदर्शन गरेका थिए। अस्थायी रहेको धनगढीबाट राजधानी कैलालीको गोदावरी क्षेत्र सुझाव दिएको हो । डोटीको दिपायल, वुडर, कैलालीको खानीडाँडा, सहजपुर, गोदावरी तथा हालकै अस्थायी राजधानी रहेको क्षेत्र धनगढीमा राजधानी राख्न सुझाव आएको तामाङको भनाइ छ। अधिकांशले प्रदेशमा नौं जिल्लालाई नै दृष्टिगत गरेर गोदावरी उपयुक्त हुने भनेपछि त्यहि सिफारिस गरेको उनी बताउँछन्।

प्रकाशित: १० आश्विन २०७५ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App