१६ चैत्र २०८० शुक्रबार
राजनीति

'पोस्ट सेयर गर्दा जागिर गयाे'

जनकपुरधाम - संविधान दिवसका दिन असोज ३ गते मधेशमा मनाइएको कालो दिवससम्बन्धी अर्काले गरेको पोस्ट आफ्नो फेसबुक वालमा सेयर गर्दा धनुषा जिल्ला अदालतका एक कर्मचारीले जागिर गुमाउनुपरेको छ।

जिल्ला अदालतका डिठ्ठा (खरिदार) पदमा करारमा कार्यरत गुञ्जनकुमारी राय ‘गुञ्जा’ले कालो दिवसको पक्षमा लेखिएको पोस्ट सेयर गरेकै कारण जागिरबाट निकालिएको गुनासो गरेकी हुन् । ‘असोज ३ गते फेसबुकमा कालो दिवसबारे लेखिएको एउटा साथीको पोस्ट मैले आफ्नो वालमा सेयर गरेकै कारण मलाई जागिरबाट निकालिएको छ,’ आइतबार पत्रकार सम्मेलन नै गरेर उनले भनिन् । एउटा कर्मचारीका नाताले संविधानविपरीत धारणा सार्वजनिक गर्न नहुने भए पनि अर्काको पोस्ट सेयर गरेकै कारण जागिरबाट निकालिनु अन्याय भएको उनले बताइन्।

आफू जातीय तथा भौगोलिक विभेदको सिकार भएको उनको दाबी छ । उनले भनिन्, ‘म आफै संविधानविरोधी गतिविधिमा लागेको भए कारबाही हुनुपथ्र्यो तर, अर्काको पोस्ट सेयर गरेकै भरमा यति ठूलो कारबाही गर्नु न्यायोचित होइन।’ कर्मचारीको नाताले समान्य गल्ती सच्याउने अवसर पाउनुपर्ने उनको माग छ । ‘समान्य गल्ती हुँदा कर्मचारीलाई स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्थालाई पनि लत्याएर न्यायालयबाटै अन्यायमा परेपछि कहाँ जानु ?,’ उनले प्रश्न गरिन्।

जिल्ला अदालत, धनुषाका स्रेस्तेदार राधाकान्त झाले भने गुञ्जालाई गत शुक्रबार अवकाश पत्र लेख्दै शनिबार (असोज ६) गतेदेखि अवकाश दिइएको जनाएका छन् । २०७३ पुस महिनादेखि करारमा खरिदार पदको जागिर सुरु गरेकी उनले स्थायी कर्मचारीका तुलनामा जागिर जोगाउनकै लागि बढी काम गरे पनि अस्थायी कर्मचारीको अवस्था दयनीय रहेको गुनासो गरिन् । सरकारी कार्यालयहरूले स्थायी पदपूर्ति गर्न कानुनी प्रावधानले ढिलाइ हुँदा अस्थायी कर्मचारी नियुक्ति गरेर काम गरिरहेकोमा यस्तो व्यवहारले अन्य करारका कर्मचारीहरू पनि संकटमा रहेको उनले बताइन् । ‘आज म सँग जे घटना भएको छ, भोलि अर्को साथीले पनि यस्तै समस्या झेल्न नपरोस् भने मैले आफ्नो समस्या सार्वजनिक गरेकी हुँ’ उनले भनिन्।

प्रकाशित: ९ आश्विन २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App