१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसद बैठक स्थगित हुँदा फुर्सदमा कर्णालीका सांसद

सुर्खेत- कर्णाली प्रदेशसभा बैठक स्थगित भएको डेढ महिना पुग्न थाल्यो। संसद बैठक अनिश्चित हुँदा सांसदहरु फुर्सदमा छन्। केही मतदाताहरुसँग भेटघाट गरेर प्रदेश राजधानी फर्केका छन्। केही सांसदहरु संघीय राजधानी काठमाडौंमा छन् । केही आफ्ना व्यक्तिगत काममा व्यस्त छन्।

डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेर नेपालगञ्ज झरेको दुई साता भयो। उनी अहिले नेपालगञ्जमा घर बनाइराखेका छन् । ‘चार मध्ये तीन स्थानीय तहमा पुगेर जनतासँग भेटघाट गरेँ, विकास निर्माण र बाढीपहिरोले पु¥याएको क्षतिको अनुगमन गरेँ’ सांसद शाहीले भने, ‘अहिले नेपालगञ्जमा घर बनाइरहेको छु ।’ लामो समयसम्म संसद बैठक स्थगित हुँदा जनताका समस्या सुनाउन र सम्बोधन गर्ने बाटो नै बन्द भएको उनले गुनासो गरे।

‘संसद नचल्दा जनताका सरोकारका विषयहरु सरकारलाई सुनाउन पाएका छैनौं, जनताका धेरै अपेक्षा र आशाहरु मर्दै गइरहेका छन्’ उनले भने, ‘हामी त अनिर्णयको बन्दी जस्तै भएका छौं।’ बाढीपहिरोले डोल्पामा यो वर्ष धेरै धनजनको क्षति पुर्‍यायो। पीडितहरुलाई प्रदेश सरकारकातर्फबाट राहत पुर्‍याउन नसकेको उनले गुनासो गरे। ‘संसद चलेको भए डोल्पाली जनताका पीडाहरु सरकारलाई सुनाउँथे, केही राहत पाइन्थ्यो होला’ उनले प्रश्न गरे, ‘कुरा सुनाउने र सुन्ने संसद नै चलेको छैन्, जनताका समस्या र गुनासा कहाँ गएर सुनाउनु।’

सांसद कुर्मराज शाही लामो समयसम्म संसद स्थगित हुँदा कानुन निर्माण प्रक्रिया नै अवरुद्ध भएको बताउँछन् । ‘प्रदेश सरकार र संसदले कानुन निर्माणको वर्ष घोषणा गरेको छ’ उनले भने, ‘यसरी महिनौ अवरुद्ध हुँदा हाम्रो भनाई र गराईमा फरक देखिने गरेको छ।’ कानुन निर्माण र जनताका समस्या सरकारलाई सुनाउने संसद नै स्थगित भएपछि आफूहरु ‘बेरोजगार’ जस्तै बनेको उनको भनाई छ। उनले देशकै गरिव प्रदेशको समृद्धि र विकासका लागि संसदमा व्यापक छलफल र बहस हुनुपर्ने बेला लामो समयसम्म संसद स्थगित हुनु दुःखद् भएको बताए । ‘प्रदेश मातहत बजेट खर्च गर्ने निकाय नभएको अवस्थामा संसदले महत्वपूर्ण काम गर्न सक्थ्यो’ उनले भने, ‘न संसद चल्छ, न विकास सम्वन्धी कुनै गतिविधि भएका छन्।’

उनले संसद स्थगित भएको मौकामा सरकारले आफू नजिकका र आफ्नो ठाउँमा जथाभावी बजेट बाँड्न लागेको आरोप पनि लगाए । ‘सरकारले गरेका र गर्न खोजेका गलत कामको खवरदारी गर्ने संसद नै स्थगित छ’ उनले भने, ‘यस्ता कुराहरु कहाँ गएर राख्ने?’

जुम्लाबाट निर्वाचित सांसद पदमबहादुर रोकायले संसद स्थगित भएपछिको अधिकांस समय परिवारसँग काठमाडौंमा विताए । ‘घर उतै (काठमाडौं)मा भएकाले १५ दिन परिवारसँग विताए, त्यसपछि केही समय निर्वाचन क्षेत्रमा पुगेँ’ उनले भने, ‘छ दिन भयो प्रदेश राजधानी वीरेन्द्रनगरमा छु।’

रोकाय मिनी संसद मानिने विधायन समितिका अध्यक्ष हुन् । उनी प्रदेश राजधानीमा आएपछि विधायन समितिको बैठक बस्यो । विधायन समितिले गाउँसभा तथा नगरसभा सञ्चालन विधेयक–२०७५ र जिल्ला सभा सञ्चालन विधेयक–२०७५ माथि छलफल गरेर संसदमा पठाउने निर्णय गरेको छ ।

सांसद झोवा विकले फुर्सदको समय सुत्केरी बुहारीको स्याहारमा विताइन् । मुगु घर भएकी विकले गाउँमा हुँदा जनतासँग भेटघाट पनि गरिन् । ‘बुहारी सुत्केरी भएकाले धेरै समय घरमै विताएँ’ शनिबार प्रदेश राजधानी आएकी उनले भनिन्, ‘अव फेरि जनतासँग भेटघाट गर्न जान्छु ।’

उनले जनताले विकासको प्रतिक्षा गरिरहेको बताइन् । ‘माननीय भएपछि आफ्नो गाउँठाउँमा विकास होला भन्ने आशा धेरैले राखेका छन्, भेटघाटमा पनि हामीलाई विकास चाहियो भन्छन्’ उनले भनिन्, ‘अघिल्लो वर्षको प्रदेश सरकारको बजेट कामै नगरेर फ्रिज भयो, संसद चलेको छैन्, अहिले पनि त्यस्तै त हुने होला।’

साउन २५ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संसद बैठक बस्ने अझै टुङ्गो छैन्। सरकारले विजनेश दिन सकेको छैन्। सभामुख राजबहादुर शाही संसद बस्ने अझै टुङ्गो छैन्। ‘संसद स्थगित भएको एक महिनाबढी भैसक्यो, अहिलेसम्म सरकारले विजनेश दिएको छैन्’ सभामुख शाहीले भने, ‘विजनेश आएपछि संसद आव्हान गछौं।’

प्रकाशित: ७ आश्विन २०७५ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App