७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

काठमाडौं- चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ। चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका दाहाललाई प्रमुख ताओले स्वागत गरेका थिए।

भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ बिचार सिजिङपिङ बिचारको विकास गरी चीनलाई नयाँ उचाईमा उठाएकोमा खुसी व्यक्त गरे।

आफ्नो दुबै प्रधानमन्त्रीत्वकालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै दाहालले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए। उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिषयमा छलफल भएको र आफैंले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताए।

अध्यक्षले भने,“पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धीमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दुरगामी महत्व राख्दछ। चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो।”

अध्यक्षले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य बताए।

भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए।

दुई सरकार (चिनियाँ सरकार र नेपाल सरकार) र दुई पार्टी (चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी) बीच भएको समझदारी र सम्झौताको शिघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाई थियो। विदेश विभाग प्रमुख ताओले भने,“ तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ।”

प्रकाशित: ३ आश्विन २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App