१६ चैत्र २०८० शुक्रबार
राजनीति

अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन्। ‘प्रहरीले अनुसन्धानमा त्रुटि गरेको र प्रमाण नष्ट गरेर घटना ढाकछोप गर्न र दोषी बचाउन भूमिका खेलेको प्रमाणित भइसकेपछि पनि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ’, स्थानीय महिला अधिकारकर्मी विमला बिष्ट भन्छिन्, ‘उनीहरू बाहिर रहेमा प्रमाण नष्ट गर्न सक्छन्।’

उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला हत्याको घटना अनुसन्धानमा सुरुमा प्रहरीबाट त्रुटि भएको पाइएको बताएका छन्। यसैगरी भदौ ७ र भदौ ८ गते गोली चलाउनुपर्ने अवस्था नभएको उनको भनाइ छ।

चारजनासँग सोधपुछ
उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख उपरीक्षक डिल्ली बिष्ट, प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबी टोलीका डिएसपी अंगुर जिसीमाथि सोधपुछ गरिएको बताएका छन्। ‘हामीले उहाँहरूसँग एकसरो सोधपुछ गरेका छौं’, उनले भने, ‘आवश्यक परे अझै सोधपुछ गर्नेछौं।’

हत्यारा भेटिनेमा अझै अविश्वास
मेहन्द्रनगरका स्थानीय अझै पनि निर्मलाको हत्यारा पत्ता लाग्नेमा विश्वस्त देखिएका छैनन्। ‘हामी सरकार र प्रहरीप्रति पूर्ण विश्वस्त छैनौं, निगरानी जारी राख्नु जरुरी छ,’ स्थानीय हेमबाबु लेखक भन्छन्, ‘सुरुदेखि नै प्रहरीको त्रुटिपूर्ण भूमिकाका कारण पूर्ण विश्वस्त छैनौं।’ उनले प्रधानमन्त्रीलाई समेत गलत सूचना दिएर घटना ढाकछोपमा लाग्ने अपराधीको ठूलै समूह रहेको दाबी गरे। सरकार र प्रहरीले पटकपटक झुक्याएका कारण आफूहरू न्याय पाउनेमा विश्वस्त नरहेको निर्मलाका मामा केशव भण्डारीले बताए। उनले भने, ‘प्रहरीको सुरुदेखिकै भूमिका त्रुटिपूर्ण छ। हामी प्रहरी प्रशासनप्रति सशंकित छौं।’

शंकास्पद व्यक्तिको निगरानी कायमै
निर्मला हत्याकाण्डमा शंकास्पद व्यक्तिलाई प्रहरीले निगरानीमै अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार प्रहरीले ८/१० जनालाई निगरानीमा अनुसन्धान गरिरहेको छ। ‘हामीले अहिल्यै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिनु भन्दा उनीहरूलाई निगरानीमा राखेर अनुसन्धान थालेका छौं,’ उनले भने, ‘हाम्रो अनुसन्धानले ठीक लागे तुरुन्तै समातेर डिएनए परीक्षण गरिनुका साथै अन्य सोधपुछ गर्छौं।’ उनले शंकास्पद व्यक्तिलाई तुरुन्तै समातेर प्रहरी कार्यालयमा ल्याउनुभन्दा गोप्य रूपमा निगरानी राखेर अनुसन्धान थाल्नु उपयुक्त भएको बताए।

यसैबीच कञ्चनपुरका एसपी कुवेर कडायतले डिएसपी ज्ञानबहादुर सेठीको घटनाका सम्बन्धमा कुनै भूमिका नदेखिएकाले उनको रगत डिएनए परीक्षण गर्न नपठाएको बताएका छन्। ‘डिएसपी सेठीको कुनै शंकास्पद भूमिका देखिँदैन, नारा लगाउँदैमा सबैको डिएनए परीक्षण हुँदैन’, उनले भने, ‘अनुसन्धानको दायरामा आएका तीनजनाको रगत हामीले डिएनए परीक्षण गर्न पठाएका छौं।’

प्रकाशित: २९ भाद्र २०७५ ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App