१६ चैत्र २०८० शुक्रबार
राजनीति

यो देशमा न्याय पाइँदैन : गंगामाया

काठमाडौं - कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले आफूलाई राज्य र मानवअधिकारवादीले ठगेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘अब म भोलिदेखि अनशन बस्छु। राज्य र मानवअधिकारवादीले मलाई ठगे। यो देशमा न्याय पाइँदैन।’ उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छन्। ‘अब मैले बाँच्नुको केही अर्थ रहेन। बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ । मैले न्याय माग गरेकी थिएँ तर मलाई सरकार र अधिकारवादीले सधैं झुक्याइरहे’, जिल्ला अदालत चितवनले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेलसहितका १२ जनालाई सफाइ दिएपछि गंगामायाले आइतबार साँझ भनिन्।

खुट्टा राम्ररी चलाउन नसक्ने गरी कमजोर भएकी ५७ वर्षीया गंगामाया छोराका हत्याका अभियुक्तलाई अदालतले सफाइ दिएपछि झनै शिथिल भएकी छन्। उनले अब आफू कसैसँग बोल्दा पनि नबोल्ने बताइन्।

उनले अघिल्लोपटक गलत आश्वासनमा परेर अनशन तोड्ने अवस्थामा पुगेको बताइन्। ‘मेरा छोराका हत्यारालाई आज अदालतले सबैलाई सफाइ दिएको सुनें । अब म केका लागि बाँच्नु? बाँच्दिनँ,’ गंगामायाले भनिन्।

कृष्णप्रसाद हत्याका आरोपितमध्येका एक छविलाल पौडेललगायतका आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले पछिल्लोपटक अनशन तोडेकी थिइन्। ‘अब त संघर्ष गर्नुको पनि केही अर्थ रहेन। अबका मेरा कदम न्यायप्रतिको संघर्ष हुने छैन । अब यिनले के न्याय देलान् र? मेरो मृत्यु पनि मेरो पतिको जस्तै दयनीय हुनेछ,’ उनले भनिन्।

प्रकाशित: २५ भाद्र २०७५ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App