१६ चैत्र २०८० शुक्रबार
राजनीति

स-यो कांग्रेस बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

पार्टी नेता बिपी कोइरालाको १०५ आैं स्मृति दिवसमनाउन नेताहरू आ–आफ्नो गृह जिल्ला पुगेकाले बैठक केही दिन पर सारिएको नेताहरूले दाबी गरेका छन्। तर, पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र कार्यसम्पादन समिति गठनमा सहमति जुट्न नसक्दा बैठक सारिएको स्रोतको दाबी छ।

‘अनुशासन र कार्यसम्पादन समिति गठन बैठकको मुख्य अजेन्डा हो,’ एक नेताले भने, ‘त्यस विषयमा नेताहरूबीच कुनै समझदारी जुटेको छैन। त्यसैले बैठक सारिएको हो।’

निर्वाचनमा पार्टी पराजयसँगै पौडेल पक्षीय नेताहरूले कार्यसम्पाद समिति विधानविपरीत गठन भएको भन्दै विघटनको माग गरेका थिए। पौडेलपक्षीय नेताको मागअनुसार सभापति देउवाले वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकमा उक्त समिति विघटन गरेको जानकारी गराएका थिए।

असन्तुष्ट पक्षलाई साथ लिएर सभापति देउवा समिति गठनको पक्षमा देखिए पनि भागबन्डामा सहमति जुट्न सकेको छैन। ‘विषयमा सहमति नजुटी बैठक राखेर तमासा देखाउनुभन्दा केहीदिन सारेर समझदारीको प्रयास गर्नु सकारात्मक कुरा हो,’ एक नेताले भने।

निर्वाचनमा पार्टी पराजयसँग अन्तर्घातको विषय उठे पनि कांग्रेसमा अनुशासन समिति छैन। नेता रमेश रिजालले अनुशासन समिति संयोजकबाट राजीनामा गरेपछि उक्त समिति गठन हुन सकेको छैन। अघिल्लो केन्द्रीय समिति बैठकमा सभापति देउवा पक्षीय नेताहरुले भिष्मराज आङ्दाम्यको संयोजकत्वमा समिति गठनको प्रस्ताव गरे पनि पौडेल पक्षले नेता बलबहादुर केसीको नाम प्रस्ताव गरेका थिए। दुवै पक्षले निकट नेताको नाम प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठक बिहीबारको लागि सार्दै विधान मस्यौदा समितिलाई अनुमोदन गर्दै महासमिति बैठकको मिति र स्थान मात्र तय गरेको थियो। साढे दुई वर्षअघि १३ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले अहिलेसम्म विभाग गठन गर्न सकेको छैन।

यसैबीच पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा रहेको विधान मस्यौदा समितिले नयाँ संविधानअनुसार पार्टी संगठनको संरचना ढाल्न देशभरीबाट सुझाव संकलनलाई जारी राखेको छ। पार्टी केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनसहितका सबैसँग बिहीबारसम्म सुझाव पठाउने आग्रह गरेको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App