coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निजी अस्पतालमा नर्सको शोषणै शोषण

काठमाडौं - नारायणटार शंकरापुर अस्पतालमा कार्यरत नर्स सुनिता श्रेष्ठले काम थालेको एक वर्ष भयो । उनको तलब मासिक सुरुमा ९ हजार थियो अहिले १० हजार छ। पढाइमा हुने लगानी र श्रमअनुसार तलब सुविधा पुग्दो नभएको उनको अनुभव छ। ‘तलबले त आफ्नो सामान्य खर्च मात्र चल्छ,’ उनले भनिन्। जागिर खाए पनि घरपरिवारमा कुनै योगदान पु-याउन नसक्ने आम्दानीले हिनतावोध भएको उनको अनुभव छ । ‘बुवाआमा त्यत्रो खर्च गरेर पढाइयो नेपालमा भविष्य नै छैन भन्नु हुन्छ,’ उनले गुनासो गरिन्।

अस्पतालले दिने तलबले पढाइमा भएको लगानी उठ्ने स्थिति छैन न त आपूmले गरेको मिहेनत अनुसारको नै तलब छ। उनकी आमा गृहिणी र बुवा जागिरे हुन्। नर्सिङ क्षेत्रमा भविष्य राम्रो होला भनेर बुवाले क्रणै खोजेर उनलाई पढाए। आफूले मिहेनत र लगानी गरेको क्षेत्रमा नेपालमा राम्रो भविष्य नदेखेपछि उनी मिलेसम्म विदेश जाने योजनामा छिन् । ‘अब विदेश जाने सोच छ,’ उनले भनिन्।

भक्तपुरकी मुना थापाले तीन वर्षअघि त्रिविवि चिकित्सा शिक्षा अध्ययन संस्थानवाट स्टाफ नर्सको पढाइ सकिन् । पढाइलगत्तै उनले मध्यपुर थिमी अस्पतालमा काम पाइन् । त्यतिबेला उनको तलब ७ हजार ५ सय थियो भने ‘ड्यिुटी आवर’ ४८ घण्टा। झन् त्यसमाथि आइसियु र अपरेसन थिएटरका बिरामीको सेवा गर्नुपथ्र्यो । काम चुनौतीपूर्ण नै थियो। तबल भने ज्यादै थोरै । जागिरको विकल्प खोज्दै जाँदा उनले एक वर्षअघि त्रिविवि शिक्षण अस्पतालमा करारमा काम पाइन् । तलब मासिक ३५ हजार। ‘ड्यिुटी आवर’ सातामा ३६ घण्टा । उनी भन्छिन्, ‘सरकारीको तुलनामा निजी अस्पतालमा तलब तेब्बर कम छ।’

सुनिता र मुनाबाहेक निजी अस्पतालको न्यून तलब र अधिक कार्यको चेपुवामा पर्ने नर्सको संख्या देशभरमा हजारौं रहेको नेपाल नर्सिङ संघ बताउँछ। नामी भनिएका निजी अस्पतालले पनि नर्सलाई कुनै न कुनै रुपमा शोषण गरेकै नेपाल नर्सिङ संघका पदाधिकारी बताउँछन्। निजी अस्पतालहरुले भोलेन्टरको बहानामा बिनातलब श्रम शोषण गर्ने तथा अन द जब टे«निङ (जागिरमै तालिम)को नाममा अत्यन्त न्यून पारिश्रमिकमा नर्सहरुलाई काममा लगाउँदा उनीहरु शोषणमा पर्ने गरेका छन्।

कम तलब दिने अस्पताल
अन्तर्राष्ट्रिय स्तरका अस्पतालदेखि सबैजसो निजी अस्पतालले नर्सको शोषण गर्ने गरेको नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले बताइन् । नर्सिङ संघका अनुसार नर्सलाई शोषण गर्नेमा नर्भिक इन्टरनेसनल अस्पताल, ग्राण्डी, ओम, हिमाल, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, मध्यपुर थिमी अस्पताल, विनायक अस्पताल गंगोबु, मनमोहन अस्पताल स्वयम्भू, वयोधा अस्पताल, लाइफ लाइन, लाइफकेयर, नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, चिरायु अस्पताल बस्ुन्धारा, ग्रिनसिटी अस्पताल लगायत छन् । नर्भिक, ग्राण्डी र मेडिसिटी अस्पतालमा समेत अन द जब टे«निङको नाममा न्यूनतम १५ हजारमा नर्सहरुलाई काम लगाउने गरिएको संघले जनाएको छ। केही मेडिकल कलेजले नर्सलाई ठेक्का प्रक्रियाबाट लिने गरेको पाइएपछि नर्सिङ संघले श्रम मन्त्रालयमा ठेकेदारीविरुद्ध उजुरी नै दिएको थियो। श्रम मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि अहिले ठेकेदारी प्रथा रोकिएको छ।

निजी अस्पतालले अनुभवी र दीर्घसेवी नर्सलाई सेवा सुविधा बढी दिनुपर्ने अवस्था आएपछि विभिन्न बहानामा कामबाट निकाल्ने गरेको पनि नर्सिङ संघको भनाइ छ। तिनका ठाउँमा नयाँ नर्सलाई अन द जब ट्रेनिङमा राखी कम पैसामा काम लगाउने गरिएको छ।

सरकारीभन्दा तेब्बर कम तलब
नेपाल सरकारको मापदण्डअनुसार नर्सहरुको तलब स्केल प्रमाणपत्र तह उत्र्तिण गरेका नर्सलाई २३ हजार ५ सय र विएस्सी नर्सिङ गरेका नर्सका लागि २८ हजार ५ सय न्यूनतम छ । तर धेरैजसो निजी अस्पतालले ७ हजार ५ सयदेखि १५ हजार मात्र दिने गरेका छन् जबकी सरकारी स्वायत्त अस्पतालमा काम गर्ने नर्सको तलब मासिक २३ हजारदेखि ५० हजारसम्म छ। शहिद गंगालाल हृदय केन्द्रका नर्सले मासिक ४५ देखि ५० हजार मासिक तलब पाउँछन् भने टिचिङ अस्पताल महाराजगन्जका नसैले मासिक २५ देखि ४० हजार पाउँछन्। वीर अस्पतालका नसैले भने ३० हजार पाउँछन्। अन्य सामुदायिक अस्पतालले भने सरकारको न्यूनत्तम मापदण्ड पूरा गर्ने गरेको संघले जनाएको छ।

नर्सलाई बिरामीको भार
सरकारी मापदण्डअनुसार ४ बिरामी बराबर १ नर्स हुनुपर्छ। तर यो मापदण्ड न सरकारी अस्पतालले पालना गरेका छन् न त निजीले नै। मापदण्डअनुसार सिसियु, आइसियु, पोस्र्ट अपरेटिभ वार्डमा १ बिरामी बराबर १ नर्सले सेवा दिनुपर्छ। जनरल वार्डमा ४ बिरामीका लागि १ नर्स हुनुपर्छ छ। तर अस्पतालले १ नर्सको जिम्मामा १६ देखि ४२ बिरामीलाई सेवा दिनुपरेको छ। नर्सलाई बिरामीको भार बढेपछि गुणस्तरीय सेवा दिन सम्भव हुँदैन। नर्सलाई क्षमताभन्दा बढी बिरामीको भार पर्दा बिरामीले भनेका बेला सेवा नपाउने र कतिपय अवस्थामा गलत सेवासमेत पर्नसक्ने नर्सिङ पदाधिकारी बताउँछन्।

शोषणविरुद्ध आन्दोलन
नर्सहरुमाथि शोषण हुन थालेपछि पीडित नर्सहरु न्यायको खोजीमा नेपाल नर्सिङ संघमा धाउने गरेका छन्। सानातिना आन्दोलन र उजुरीको सामना संघले वर्षेनी गर्दै आएको छ । केही विषेश अवस्थामा ठूला आन्दोलन पनि गरेको छ। गत वर्षको पुषमा धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले दुई नर्सलाई निकाला गरेपछि संघले देशव्यापी आन्दोलन चल्यो । त्यही क्रममा संघले ११ सूत्रीय माग राखी आन्दोलन चर्काएको थियो । स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी नर्सहरुका माग सम्बोधन गरेको थियो। त्यसैगरी, सरकारी अस्पलतामा सरह निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक तथा सुविधा हुनुपर्ने, नर्सहरुलाई जोखिम भत्ता हुनुपर्ने, लगायतका ११ सूत्रीय माग राखेका थिए । सरकारले गत माघमा संघसाग ११ बुँदे सम्झौता गरे पनि कार्यान्वयन हुन ससेको छैन।

समाधान के?
नर्सिङ क्षेत्रमा महिलाको मात्र उपस्थिपत हुँदा निजी क्षेत्र र सरकारले यो पेशालाई हल्का रुपमा लिएको सघंकी अध्यक्ष प्राध्यपक तारा पोखरेल बताउँछिन्। यसका लागि यसै वर्षदेखि नर्सिङ शिक्षामा १५ प्रतिशत पुरुष विद्यार्थी सहभागी गराउने निर्णय भएको छ । निजी र सरकारी दुवै निकायले नर्सजस्तो गौरवशाली पेशालाई हेर्ने र बुझ्ने गलत दृष्टिकोण हुनु, नर्सिङ पेशा महिलाको मात्र हो भन्ने मानसिकता हुनुले पेशाप्रति सम्मान हुन नसकेको नेपाल नर्सिङ संघकी उपाध्यक्ष गंगा थापा बताउँछिन्। पोखरेल भन्छिन्, ‘सरकारले निजी अस्पतालको लागि सेवा–सुविधा अस्पताल खोल्ने क्रममै तोकेको हुन्छ, तर फितलो अनुगमनको मार नर्समा परेको छ।’

निजी अस्पताललाई सरकारी मापदण्डअनुसार नै नर्सको सेवा सुविधा हुनुपर्ने व्यवस्था भए पनि निजी अस्पतालले नक्कली तलब स्केल पेश गरेर सरकारलाई झुक्याउने काम गरिरहेका छन्। अनुगमन फितलो हुँदा निजी अस्पतालका नर्स मारमा परेका छन्। नेपाल नर्सिङ काउन्सिलकी पूर्वअध्यक्ष तथा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानकी प्राध्यपक प्रमिला देवान यसको लागि नर्सहरुले आफूमाथि भएको शोषणको आवाज एकीकृत रुमपा बाहिर ल्याउन नसक्दा समस्या बल्झिरहेको बताउँछिन्। ‘अनुभवका लागि कम पारिश्रमिकमै गर्नुपर्ने बाध्यताले पनि नर्सहरु थप शोषणमा पर्ने गरेका छन्,’ उनले भनिन्।

प्रकाशित: १७ भाद्र २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App