१६ चैत्र २०८० शुक्रबार
राजनीति

चाँडै निष्पक्ष छानबिन गरिनुपर्छ – कांग्रेस

महेन्द्रनगर – निर्मला पन्त हत्या काण्डमा शून्यबाट निष्पक्ष छानबिन गरिनुपर्ने पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले बताएका छन्। सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै बलायरले सुरुदेखि नै घटनाको अनुसन्धान फितलो भएको बताए। उनले भने,‘लामो समयसम्म हत्यारा पत्ता नलाग्नुको कारण के हो जनताले जान्न चाहेका छन्।’ आफूहरुले कांग्रेस भित्र चर्को दबाब दिएर घटनाको सत्यतथ्य बाहिर निकाल्नका लागि सरकारसँग माग गर्ने निर्णय गरे लगत्तै पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्त हत्या काण्डबारे प्रधानमन्त्रीसँग कुरा राखेको उनले बताए।

कांग्रेसको ९ गते बसेको बैठकले पहिलो एजेण्डाकै रुपमा निर्मला पन्तको हत्याकाण्ड बारे सत्यतथ्य छानबिन गरिनुपर्ने माग उठाएको बताउँदै उनले भने,‘आन्दोलनका बारेमा विभिन्न टीका टिप्पणी भए, कांग्रेसले आन्दोलन उचाल्या भन्ने आयो। त्यही भएर हामीले अब सत्य खुल्नु पर्छ भन्दै बैठककै पहिलो निर्णयले घटना जाँचबुझका लागि दुई सदस्यीय समिति बनायो।’

सुरुदेखि नै गरिएको अनुसन्धान विश्वासिलो नभएको बताउँदै अर्का नेता दिलेन्द्रप्रसाद बडूले भने,‘गलत प्रविधि प्रयोग गरेर घटनालाई ढाकछोप गर्ने प्रयास भयो, यो गरिनु हुँदैनथ्यो।’ उनले आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि सरकारले सहयोग गर्नुपर्ने बताए। ‘उपचार निःशुल्क भनेको छ, तर औषधि किन्ने पैसा नहुँदा घाइतेको बिजोग छ,’ उनले भने,‘सस्तो लोकप्रियताका लागि जे पनि बोल्नु भन्दा उपचारका लागि पूर्ण सहयोग गर्नुपर्छ।’

कांग्रेसले निर्मला पन्त घटनाबारे बास्तबिकता जाँचबुझका लागि केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायलरलाई महेन्द्रनगर पठाएको हो। नेता द्वय बडू र बलायरले निर्मला पन्त घटनाका बारेमा हत्या आरोपमा समातिएका र छोडिएकाहरुका आफन्तसँग सोधपुछ गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७५ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App