८ वैशाख २०८१ शनिबार
राजनीति

निर्मलाको घरमै पुगे नेता भट्ट, न्याय दिलाउने आश्वासन

महेन्द्रनगर– ‘तपाईहरु ढुक्क हुनुस् हामी पन्त परिवारलाई न्याय दिलाउने छौँ’, आइतबार बेलुकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेका नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसद लेखराज भट्टले बताए। उनले निर्मला हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई वर्तमान कानुनअनुसार कारबाही गरिने बताए। 

आइतबार बेलुकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तको भीमदत्त नगरपालिका–२, उल्टाखमस्थित घरमा पुगेर उनका आमा बुबासँग भेट गर्दै संसद भट्टले घटनाबारे जानकारी लिए। उनले अकल्पनीय घटना घटेको प्रति दुःख व्यक्त गर्दै भने,‘घटनापश्चात हामीले नेपाल सरकारलाई निष्पक्ष छानबिनका लागि आग्रह ग-यौँ र आग्रह अनुरुप नै पुरानो टोलीलाई बर्खास्त गर्दै नयाँ छानबिन टोली पठाएका हौँ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई उदृत गर्दै नेता भट्टले भने, ‘उहाँलाई हामीले भेट्दा हत्यारा जतिसुकै शक्तिशाली भए पनि त्यसलाई छोड्दैनौ भन्नुभएको छ।’ आफू प्रधानमन्त्रीको सन्देश लिएर आएको बताउँदै उनले भने, ‘सरकारले तत्कालै पन्त परिवारप्रति न्याय दिलाउने आश्वासन दिएको छ। त्यसका लागि निष्पक्ष छानबिन गर्न नयाँ टोली नै खटिइसक्यो।’ 

आफूहरु जनप्रतिनिधि मात्र नभई जनता पनि भएकाले भोलि आफ्ना दिदी बहिनीमा पनि त्यस्तो समस्या पर्ने हुँदा दोषीको मनोबल घटाउन पनि निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा उभ्याउने उनले बताए। उनले भने, ‘तपाईहरु ढुक्क हुनुस् हामी तपाईलाई न्याय दिलाउने छौँ।’ 

यसैगरी शुक्रबार आन्दोलनका क्रममा मृत्यु भएका भीमदत्त नगरपालिका–१८, भगतपुरस्थित सन्नी खुनाका घरमा पुगेर संसद भट्टले सहिद घोषणा भइसकेको र क्षतिपूर्ति पनि तत्कालै उपलब्ध गराउने आश्वासन दिए। सन्नी खुनाका बुबा वीरबहादुरलाई भेट्दै उनले भने, ‘तपाईहरुको पीडामा हामी पनि पीडित बनेका छौँ, घटनाका बारेमा बुझेर छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ।’ उनले प्रधानमन्त्रीको सन्देश लिएर आफू आएको बताउँदै भने, ‘सन्नी अब राष्ट्रिय सहिद बनेका छन्, तपाईहरु सहिदका आमा बुबा हुनुभयो, यसलाई बुझेर धैर्यधारण गर्नुस्।’ 

संसद भट्टले आइतबार नै निर्मला पन्तकी साथी रोशनीको घरको अवलोकन पनि गरे। उनले रोशनी बमको घर अगाडि गाडीबाट झरेर घटनाबारे जानकारी लिए। पर्खाल बाहिरैबाट रोशनी बमको घर नियाल्दै बारीमा काटिएको अम्बाको बोटसम्म हेर्न उनले भ्याए। 

गत बुधबार नै आन्दोलनका क्रममा अनियन्त्रित भिडले निर्मलाकी साथी रोशनी बमको घरमा ढुङ्गा मुढा गरेपछि झ्यालका सिसा फुटेका थिए। घरको सुरक्षाका लागि खटिएको प्रहरी टोलीका प्रमुखसँग उनले घरको अवस्थाबारे जानकारी लिए। 

यसैगरी प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जनताको जिउधनको सुरक्षा गर्नु प्रदेश सरकारको पनि दायित्व रहेकाले आफूले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाई कारबाहीका लागि सिफारिस गर्ने बताए। उनले भने, ‘हामीले पनि पटक पटक सदनमा कञ्चनपुर घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्दै आवाज उठायौँ।’ दोषी उम्कन खोजिरहेको छ भन्ने सुनेपछि आफूले गृहमन्त्रालयमा खबर गरेर निष्पक्ष छानबिनका लागि नयाँ छानबिन समिति गठन गर्न दबाब दिएको उनले बताए। भेटघाटमा पुगेको टोलीलाई निर्मला पन्तका बुबा यज्ञराज र आमा दुर्गादेवीले चाँडै दोषी पत्ता लगाइदिन अनुरोध गरे। ‘वास्तविक दोषी लुकाएर मानसिक सन्तुलन गुमेको व्यक्तिलाई फसाइनु हुँदैन’, निर्मलाका बुबा यज्ञराजले भेटघाटमा घरमै पुगेको टोलीलाई भने, ‘राहत भन्दा पनि वास्तविक दोषी चाहियो।’ 

प्रकाशित: १० भाद्र २०७५ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App