१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

काठमाडौं– गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ। 

गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठिक नभएका व्यक्ति हुन्। 

घटनाको वास्तविक दोषी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र गरेको भन्दै प्रहरी प्रशासनको विरोधमा स्थानीयले मंगलबारदेखि थालेको आन्दोलन चर्किदै गएपछि स्थितीलाई सम्हाल्न तथा हत्या काण्डको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाउन निर्देशन दिइएको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए। 

गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय डोटीमा कार्यरत एसएसपी चन्दलाई विहीबार कञ्चनपुर पठाउँदैछ। एसएसपी चन्दले नागरिकसँग कुरा गर्दै आफू भोलि कञ्चनपुर जाने र शान्ति सुरक्षा मिलाउनका लागि त्यहाँको अवस्था बुझेर आवश्यक समन्वय गर्ने बताए। 

विष्टलाई तान्ने निर्णय भोलि !

सचिव राईले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई जिल्ला प्रहरी कार्यालयको कामकाजबाट मुक्त गर्ने कि नगर्ने भन्ने निर्णय विहीबार हुने बताए। ‘अहिले हटाउने निर्णय भएको छैन्। एसएसपीको टोलीले पहिला गएर स्थिती हेर्छ, टोलीले बताएपछि अवस्था हेरेर के गर्ने भन्ने निर्णय हुन्छ’, राईले नागरिकसँग भने।

प्रकाशित: ६ भाद्र २०७५ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App