१५ चैत्र २०८० बिहीबार
राजनीति

कर बढाएको विरोधमा कांग्रेस आन्दोलित

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले कर बढाएको विरोधमा मंगलबारबाट कांग्रेस आन्दोलनमा उत्रिएको छ। करमा बढाइएको मूल्य फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस भीमेश्वर नगर समितिको अगुवाईमा मंगलबार कांग्रेस कार्यकर्ताले भीमेश्वर नगरपालिका कार्यालयमा एक घण्टा धर्ना दिए। 

बढाईएको कर फिर्ता लिन माग गर्दै नारा जुलुस सहित कांग्रेसको जिल्ला कार्यालयबाट निस्किएका कार्यकर्ताले चरिकोट बजारका बिभिन्न भागको परिक्रमा गरी नगरपालिका कार्यालय पुगेर एक घण्टा धर्ना दिएका छन्। धर्नाका क्रममा उनिहरुले जग्गाको मूल्यांकन जथाभावी बढाएर मनपरी कर असुलेको, नगरबासीले घर बनाउँदा नक्सापासको मुल्य चर्को तिर्नु परेको, व्यवसाय लगायत बिभिन्न क्षेत्रहरुमा कर बढाएको, अत्यावश्यक सिफारिस लगायत विभिन्न क्षेत्रमा महंगो कर लिएको भन्दै नगरपालिकाका पदाधिकारीहरुको चर्को विरोध गरेका थिए। 

यसअघि कांग्रेसको भीमेश्वर नगर समितिले साउन २९ गते विज्ञप्ति प्रकाशन गरेर बढाईएको कर फिर्ता लिन एक साताको अल्टिमेटम दिएको थियो। ‘एक साता भित्र नगर सभा र कार्यपालिका बैठक बोलाएर बृद्धी गरिएको कर फिर्ता लिन आग्रह गरेका थियौं’, भीमेश्वर नगर समितिका सभापति राजेश कुमार श्रेष्ठले भने, ‘नगरका पदाधिकारीहले सुनेको नसुन्यै गरेर बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो।’ श्रेष्ठले बढाईएको कर फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए। 

धर्नापछि नगरपालिका कार्यालय भित्रै आयोजित कोण सभामा कांग्रेस नेता एवं भीमेश्वर नगरपालिकाका मेयर प्रत्यसी उम्मेदवार ईश्वर नारायण मानन्धरले नागरिकलाई अनावश्यक कर थोपरेर जनप्रतिनिधिले गम्भीर गल्ती गरेको प्रतिक्रिया दिए। ‘जन्मसिद्ध अधिकारका रुपमा रहेको नागरिकता, जन्मदर्ता जस्ता अत्यावश्यक सिफारिसका कागजात बनाउँदा मनपरी मुल्य लिइएको छ’, उनले भने, ‘जनतालाई राहत हुने खालका क्षेत्रहरुमा समेत कर थोपरेर जनबिरोधी कार्य गरियो।’    

प्रकाशित: ५ भाद्र २०७५ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App