१९ असार २०७७ शुक्रबार
राजनीति

प्रदेश २ मा प्रधानमन्त्रीलाई जरिवानाको माग

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप लगाएका छन्। 

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै लालले भने, ‘प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभयो। जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन्। प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ। प्रदेश सभामा बोल्नै पाउनुहुन्न भन्ने मेरो कुरा होइन। तर उहाँले हिजो प्रदेश नम्बर २ मा राजा÷महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो। यो संविधानविपरित छ।’

प्रधानमन्त्री ओलीले प्रदेश सभामा अनधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाई पनि बर्दी लगाएर उभ्याएको र मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत भएको उनको टिप्पणी छ। प्रधानमन्त्री ओलीको पछिल्लो कदम र हिजो २ नम्बर प्रदेशमा गरेको सम्बोधनले संघीय संरचनालाई कमजोर बनाउने उनले तर्क गरे।

नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरे। यद्यपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे। 
प्रधानमन्त्री ओली संविधान र संघीयता कार्यान्वयनमा भन्दापनि यसलाई कमजोर र मास्न उद्धत रहेको भन्ने कुरा हिजोको कदमबाट प्रष्ट भएको लालको आरोप छ। 

उनले ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफलतातर्फ उन्मुख रहेको आरोप लगाए। उनले भने, ‘सरकारले गरेका प्रायः सबै निर्णयहरु विवादित छन्। मुलुकको संरचना नै परिवर्तन भएको अवस्थामा सरकारले भने आफ्नो भूमिका सोही अनुसार निर्वाह गर्न सकेको छैन्।’  

प्रकाशित: ३ भाद्र २०७५ १९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App