८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको जिल्ला समिति गठन अझै टुंगिएन, अध्यक्षका लागि दौडधुप

उदयपुर– तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचेको एकीकरणपछि जिल्ला तहको संगठन निर्माणमा उदयपुरमा सहमति जुट्न नसक्दा समस्या भएको छ। यही भदौ पहिलो साताभित्र एकीकृत जिल्ला संगठन निर्माण गरिसक्ने केन्द्रीय पार्टीको निर्देशन भएपनि उदयपुरमा अहिलेसम्म एकीकरण पार्टी गठन हुन नसकेको हो। 

एकीकृत समितिको अध्यक्ष, सचिव र पदाधिकारीमा पूर्व एमाले र पूर्व माओबादी केन्द्रका आकांक्षी धेरै भएका कारण समिति गठनमा ढिलाई हुन गएको पार्टी नेताहरुकै भनाई छ। तत्कालिन एमाले र माकेका जिल्ला समितिहरु ठूला भएकाले एकीकरण गर्दा समायोजन गर्नै समस्या परेकाले पनि एकीकरण समिति गठनमा ढिलाई भएको हो। 

उदयपुरमा तत्कालीन एमालेको ७६ सदस्यीय जिल्ला कमिटी रहेकोमा बाम गठबन्धनपछि २५ जना नयाँ सदस्य थपेर १ सय १ सदस्यीय जिल्ला कमिटी बनाइएको छ। यद्यपी यसरी पछि थपिएका सदस्यलाई आफूहरुको सहमतिबेगर गरिएको निर्णय भन्दै एउटा समूहले त्यतिबेलै निर्णय बदर गर्न माग गरेको थियो। सो समूहले आफूहरुलाई नबोलाई मनोमानी ढंगले सदस्य थपेकाले त्यसलाई नमान्ने जिकिर गर्दै प्रेस विज्ञप्तीसमेत जारी गरेको थियो। 

उनीहरुको सहमति नभएपछि एमालेको जिल्ला समिति माकेकोभन्दा २ तिहाई कम रहेको छ। माकेको जिल्ला सचिवालय मात्र १ सय ३८ सस्यीय रहेको छ। बाम गठबन्धनअघि माकेको जिल्ला सम्मेलन आयोजक समिति ६ सय ९८ सदस्यीय रहेको तत्कालीन जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) बताउँछन्। उनका अनुसार सम्मेलन आयोजक समितिलाई समेट्न नसके पनि सचिवालय सदस्य सम्मलाई एकीकरण पछिको समितिमा समेट्ने प्रयास गरिने छ। 

नेकपाको जिल्ला अध्यक्ष बन्ने दौडधुपका लागि उदयपुरबाट आधादर्जन हाराहारीले हेडक्वाटर (केन्द्रीय कार्यालय) धाएको महिनौ बितिसकेको छ। जिल्ला अध्यक्ष एमाले वा माके कसको भागमा पर्ने टुंगो नभईरहेका बेला दुवै पार्टीले आफूले अध्यक्ष पाउनुपर्ने भन्दै धुम्बाराही र पेरिसडाँडा धाएको धेरै बितेको कार्यकर्ताहरु बताउँछन्। ‘अध्यक्ष पद एउटा छ, दावी गर्दै काठमाडौं धाउनेहरु ६÷७ जना छन्’, नेकपाका एक अगुवा कार्यकर्ताले भने ‘कार्यकर्ता खुसी पार्नुपर्दैन, नेता खुसी पारे भईगो, त्यसैले काठमाडौंमै अड्डा जमाएर बसेका छन्।’

पार्टी स्रोतका अनुसार अध्यक्षका लागि तत्कालीन एमालेबाट २ जना र माकेबाट ४ जनाले दावी गरिरहेका छन्। इश्वरमणि राउत र बेदप्रसाद पोखरेल अध्यक्षमा दावी गर्ने एमाले नेता हुन्। राउत एकीकरणपूर्व एमालेका अध्यक्ष हुन् भने पोखरेल पूर्व अध्यक्ष हुन्। त्यस्तै तत्कालीन माकेबाट मोहन खत्री (दिपक), भिम अधिकारी (अनिल), राजन किराती (बासु) र विनोद कटुवाल (दिवस) ले अध्यक्षमा दावी जारी राखेका छन्। 

दिपक पूर्व सांसद तथा गठबन्धनअघि जिल्ला इन्चार्ज, अनिल र बासु पूर्व सेक्रेटरी (जिल्ला अध्यक्ष) र दिवस एकीकरणपूर्व जिल्ला संयोजक हुन्। अध्यक्ष पद हत्याउनका लागि तत्कालीन दुवै संगठनका नेताहरु महिनौंदेखि धुम्बाराही र पेरिसडाँडा धाउँदै आएका छन्। प्रचण्ड र ओलीको आशिर्वाद लिन महिनौंयता केन्द्रीय कार्यालय धाईरहे पनि अहिलेसम्म उनीहरु कसैलाई अध्यक्ष बनाउने विश्वास भने केन्द्रीय समितिबाट नपाएको कार्यकर्ताको भनाई छ। 

जिल्ला समिति कति सदस्यीय बनाउने र अध्यक्ष कसलाई छान्ने भन्ने विषयमा जिल्ला कार्यदलको बैठक पटक पटक बसे पनि निश्कर्ष निस्कन नसकेको बताइएको छ। नेकपाले तत्कालीन एमाले नेता तथा पार्टी केन्द्रीय सदस्य बलदेव चौधरीको संयोजकत्वमा ४ सदस्यी जिल्ला समिति गठन कार्यदल बनाएको छ। तत्कालीन एमाले अध्यक्ष राउत, माके इन्चार्ज दिपक र संयोजक दिवस सम्मिलित कार्यदलको बैठक राजधानीमै पटक पटक बसे पनि निष्कर्ष निस्कन नसकेको बताइएको छ।

प्रकाशित: २ भाद्र २०७५ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App