coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र हुन् : कानूनमन्त्री ढकाल

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन्। 

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको बताएका हुन्। उनले भने, ‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो। प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन्। हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै कामु मान्ने हो।’

उनले अब सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने कुरा संवैधानिक परिषदको बैठकबाट टुँगो लाग्ने स्पष्ट पारे। उनले भने, ‘संवैधानिक परिषदको बैठक छिट्टै बस्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि छलफलबाट हामी परिषदको बैठक टुँगो लगाउँछौं। परिषदको बैठकले प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्छ। अनि संसदीय सुनुवाई विशेष समितिबाट नाम अनुमोदन भयो भने प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला हुन्छ।’
तपाईभन्दा अघिका मन्त्रीले त न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेर पटक–पटक बोल्नुभएको थियो, अब तपाई के गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘न्यायालयलाई विश्वासिलो, सक्षम र अधिकारसम्पन्न बनाउनुपर्छ। म कानूनसम्मत् निर्णय गर्छु।’ 

मन्त्री ढकालले अघिल्ला मन्त्री शेरबहादुर तामाङले कानून र संविधानसम्म्त ढंगले गरेका निर्णय र कामहरुलाई आफूले निरन्तरता दिने समेत बताए। उनले भने, ‘सबैको आ–आफ्नै कार्यशैली हुन्छ। मैले सार्वजनिक प्रतिबद्धता समेत गरिसकेको छु कि म भ्रष्टाचार गर्दिन्। पदीय अवसरलाई म कुनैपनि हालतमा दुरुपयोग गर्दिन्। म निष्ठावान भएर काम गर्छु।’

नागरिकतासम्बन्धी विद्येयक संसदमा टेबुल भैसकेकोले अब त्यो संसदको सम्पत्ति भएको उनको भनाइ छ। ढकालले भने, ‘संविधानमा जे व्यवस्था छ, त्यही अनुसार नागरिकतासम्बन्धी विद्येयक आएको हो। यसबाट सरकार ब्याक हुँदैन्। जे गर्छ संसदले गर्छ। यदि कहीँ कतै कमी गरेको छ र केही अपुग भएको छ भने त्यसमा कमी पूरा गरेर हामी अघि बढ्छौं।’

प्रकाशित: २ भाद्र २०७५ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App