coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पार्टी नेतृत्वप्रति श्रेष्ठ असन्तुष्ट

काठमाडौ - नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठलाई पार्टी र सरकारको लाइनविपरीत मेडिकल शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई भेट्न गएको तथा पार्टी लाइनविपरीत केसीका मागप्रति सहमति जनाउँदै अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै पछिल्लो सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सजग गराएका थिए।

त्यसबाट असन्तुष्ट श्रेष्ठले नेकपाको प्रवक्ताबाट राजीनामा दिएको नेकपा स्रोतले जानकारी दियो। स्रोतका अनुसार पछिल्लो सचिवालय बैठकमा श्रेष्ठले पार्टी संस्थागत ढंगले नचलेको, सरकार तथा पार्टीका निर्णय बाहिरबाट थाहा पाउनुपर्ने अवस्था आएको र पार्टी नेतृत्वले सरकारका नीति तथा कार्यक्रमबारेसमेत पार्टीभित्र छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। नेता श्रेष्ठले पार्टी र सरकारकाबीचमा तालमेल नहुँदा सरकारले गरेका निर्णयमा समेत पार्टीले अपनत्व महसुस गर्ने अवस्था नरहेको भन्दै गुनासो गरेका थिए।

श्रेष्ठले डा. केसीका मागमा सरकार र नेकपा टसमस नभएका बेला असार ३ गते ट्विट गर्दै  पार्टी, नेता कार्यकर्ता, तथा सरकारलाई माथेमा प्रतिवेदनको सकारात्मक पक्षलाई बिना पूर्वाग्रह आत्मसात गर्न आग्रह गरेका थिए। उनले ट्विटमा लेखेका थिए, ‘हाम्रो पार्टी नेकपाका नेता कार्यकर्ता र सरकारले पनि माथेमा प्रतिवेदनको सकारात्मक पक्षलाई बिना पूर्वाग्रह आत्मसात गरेर समाजवादउन्मुख चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा त्यसलाई प्रयोग गर्ने तत्परता प्रदर्शन गर्नुपर्छ । गम्भीर होऔं, ठण्डा दिमागले सोचौं र जनमुखी काम गरौं।’ श्रेष्ठकै पहलपछि सरकारले डा. केसीका मागबारे तदारुकता देखाएको थियो। सोअनुसार सरकारले सुवासचन्द्र नेम्बाङलाई अग्रसर बनाएपछि डा. केसीको माग सम्बोधन गरी अनशन तोडिएको थियो।   

श्रेष्ठको यो ट्विट नेकपा र सरकारको लाइनभन्दा फरक ढंगले आएको थियो। नेकपाले डा. गोविन्द केसीका माग सम्बोधन गर्न नसकिने बताइरहेका बेला असार ६ गते श्रेष्ठले डा. केसीलाई भेटेका थिए। सोही दिन उनले ट्विट गर्दै आफू  सधैं सत्य र न्यायको पक्षमा उभिन सघर्षरत रहेको र यसबारेमा कसैसँग कुनै सम्झौता गर्न तयार नरहेको उल्लेख गरेका थिए।

श्रेष्ठले ट्वीटमा अगाडी लेखेका थिए, ‘म भीडको पछि पनि कहिल्यै लाग्दिन। ठिकलाई ठीक र बेठीकलाई बेठीक भन्नू ,अनि तदनुरूप आचरण गर्नु मेरो जीवन मूल्य हो। मेरा सबै स्थान र सम्बन्ध त्यसका लागि निमित्त मात्र हुन् ।’ श्रेष्ठले पार्टी लाइनविपरीत गोविन्द केसीलाई भेटेको र अभिव्यक्ति दिएको भन्दै उक्त विषयमा पार्टीको शीर्ष तहमा छलफलसमेत भएको थियो।

पार्टी नेतृत्व एकतर्फी ढंगले अघि बढेको, सहकार्य नगरको लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठले स्पष्टीकरण सोधेपछि प्रवक्ताको जिम्मेवारीमा नरहने भन्दै राजिनामा बुझाएका थिए। श्रेष्ठका अभिव्यक्ति र व्यवहारबाट विशेष गरी पूर्व नेकपा एमालेका नेताहरु शसंकित भएको बताइन्छ। श्रेष्ठका अभिव्यक्तिबाट सरकार समस्यामा पर्ने पूर्व एमाले नेताको आँकलन रहेको नेकपा निकट स्रोतले जानकारी दियो। श्रेष्ठ भने पछिल्ला केही दिनयता मौन रहँदै आएका छन्। उनलाई पूर्ववर्ति जिम्मेवारीमा फर्काउन पहल भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रकाशित: १७ श्रावण २०७५ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App