८ वैशाख २०८१ शनिबार
राजनीति

चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील छ : प्रधानसेनापति क्षत्री

काठमाडाैं- चिनियाँ जनमुक्ति सेनाको ९१औँ स्थापना दिवस (अगस्त १) का उपलक्ष्यमा यहाँस्थित चिनियाँ दूतावासले मंगलबार यहाँ स्वागत समारोहको आयोजना ग-यो। समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेको उल्लेख गर्दै दुई देशका सेना बीचको सम्बन्ध अत्यन्तै राम्रो रहेको र हालका दिनमा गुणात्मक रुपमै मजबुत हुँदै गएको बताए। 

उनले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएको र नेपाली सेनाका जवानले सैनिक तथा चिकित्सासम्बन्धी तालीम प्राप्त गर्ने गरेको समेत उल्लेख गरे। नेपाल र चीन भूगोलले मात्रै नभई सांस्कृतिक र धार्मिकरुपमा समेत नजिक रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध पञ्चशीलका आधारमा मजबुत बन्दै गएको स्पष्ट पारे। 

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै प्रधानसेनापति क्षत्रीले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए। 

सो अवसरमा चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिइएको थियो भने जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्रसमेत प्रदर्शन गरिएको नेपालस्थित चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सिआउग्वाङले जानकारी दिए। 

कार्यक्रममा चिनियाँ राजदूत यू होङ, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्व प्रधानसेनापतिहरु गौरवशम्शेर राणा, छत्रमान गुरुङ, सेना तथा प्रहरीका वरिष्ठ अधिकृतलगायत यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। रासस

प्रकाशित: १५ श्रावण २०७५ १६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App