८ वैशाख २०८१ शनिबार
राजनीति

प्रजातन्त्रको पाठ नसिकाउन नेकपालाई कांग्रेसको चेतावनी

राजधानीमा नेपाली कांग्रेसले गरेको प्रदर्शन। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गोविन्द केसीको आन्दोलनबाट सरकार झुकेको भएपनि निरंकुशता र अधिनायकवाद कायमै रहेको बताएका छन्।

सरकाविरुद्ध कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको विरोध कार्यक्रमलाई शान्तिवाटिकामा सम्बोधन गर्दै नेता सिंहले प्रजातन्त्रको हरेक आन्दोलनमा नेपाली कांग्रेसले नेतृत्व गरेको अहिलेको सरकार पनि नेपाली कांग्रेसले गराएकै चुनावको परिणाम भएको नबिर्सिन सरकारलाई सचेत गराए।

अहिलेको सरकारले स्वतन्त्र न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षातन्त्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै उनले संघीयताको खर्च धान्ने नाममा अनावश्यक कर बढाएर जनताको ढाड सेक्ने काम गरेको बताए।

उनले २०४६ सालको आन्दोलनलाई स्मरण गर्दै आफ्ना पिता गणेशमान सिंहले भनेको कुरा पनि सुनाए। ‘४६ सालको आन्दोलनको नेतृत्व गर्दै गणेशमान सिंहले नेपाली कांग्रेस हात्ती हो, अन्य कम्युनिस्ट पार्टीहरु बोका हुन। बोका जतिसुकै मोटाएपनि हात्तीको छेउमा नसुहाउने भन्नुभएको थियो’, उनले भने, ‘अहिलेका कम्युनिष्ट एकता पनि त्यस्तै हो। बोका मोटाउनु र हात्ती दुब्लाउनु एउटै होइन।’ उनले कम्युनिष्ट जति ठूलो भएपनि कांग्रेसलाई भेट्न नसक्ने दाबी गरे।

अर्का नेता प्रकाशशरण महतले नरसंहारबाट आएको पार्टीले नेपाली कांग्रेसलाई प्रजातन्त्रको पाठ नसिकाउन चेतावनी दिए। उनले माइतीघरमात्रै होइन देशका हरेक क्षेत्रबाट आन्दोलन छेड्ने चेतावनी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै नेता महतले उनमा निरंकुशता हाबी भएको र यो संकेत चुनावको परिणाम पछि नै देखिएको आरोप लगाए। ‘मन्त्री सचिव बोलाएर पुगेन?’ उनले प्रश्न गरे, ‘कहिले उपकुलपति त कहिले अस्पतालका डाक्टरलाई बालुवाटार बोलाएर घण्टौं थुनिएको छ। यो निरंकुशताको पराकाष्ठ हो।’

उनले नेपाली कांग्रेसबारे जथाभावी टिप्पणी नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै उनले भने, ‘प्रधानमन्त्रीजी हल्का फुल्का टिप्पणीमा रमाइरहनुभएको छ। उहाँ जिम्मेवार पदमा भएर पनि बालापन देखाइरहनुभएको छ। यो उपयुक्त होइन।’

कञ्चनपुरमा १३ वर्षीय बालिकाका हत्यारा अहिलेसम्म पक्राउ नपर्नुले सरकारको असक्षमता प्रष्ट भएको उनको आरोप छ।

पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले गैरसंवैधानिक कामहरु गरिरहेको आरोप लगाए। सभामुख र उपसभामुख अलग अलग पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान भएपनि केन्द्रदेखि प्रदेशसम्म एउटै पार्टीको राखेर सरकारले संविधान मिचेको आरोप लगाए।

 

प्रकाशित: १५ श्रावण २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App