१५ चैत्र २०८० बिहीबार
राजनीति

दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन

दोस्रो विश्व युद्धका योद्धा पत्थरमान राई । तस्बिर सौजन्य : पदम थुलुङ

खोटाङ– दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन भएको छ। विस २००० सालमा दोस्रो विश्वयुद्ध लडेका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राईको सोमबार ९५ वर्षको उमेरमा निधन भएको हो। अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माडौं लगिएका दोस्रो विश्वयुद्ध लडाकु राईको घर ल्याउने क्रममा घुर्मीमा मृत्यु भएको आफन्त पदम थुलुङले बताए। हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज पाएका राईले घर फर्कने इच्छा देखाएपछि घर फर्काइदै थियो। राईको मंगलबार चिउरीबासमा दाहसंस्कार गरिने आफन्तले बताएका छन्। 

बाबु गजवसिं राई र आमा सरिमायाँको कोखबाट विस १९८० साल माघ २ गते जन्मिएका पत्थरमान १९ वर्षको उमेरमा विस १९९९ सालमा भारतीय सेनामा भर्ती भएका थिए। दोस्रो बिश्वयुद्ध चलिरहेकै बेला राती साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै भर्ती भएका राईले दोस्रो बिश्वयुद्धमा जापानी सेनाविरुद्ध लडेका थिए। पल्टन नम्बर टेनजिआर १०९९९६ भएका उनी मणीपुर ओखरबोट रोड क्षेत्रबाट खटाइएका थिए। युद्धमा घाइते अवस्थाका जापानी सेनाले हानेको ग्रिनेटले लाग्दा पत्थरमानको शरीर छिया–छिया बनेको थियो। ग्रिनेट बिष्फोट हुँदा रुख नै उखेलिएर उछिट्टिएको थियो। 

घाइते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बित्यो। अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइए। १८ ठाउँमा शल्याक्रीया गरियो। शरीरकै छाला काटेर ओठका रुपमा टाँसियो। नक्कली दाँत हालिए। छियाछिया शरीर टालटुल गरिएको थियो। 

१ सेप्टेम्बर १९३९ मा सुरु भएको दोस्रो बिश्वयुद्ध २ सेप्टेम्बर १९४५ अर्थान २००२ साल भदौसम्म जारी रह्यो। सो अवधिमा करिब १ करोड ४६ लाख सेना र करिब एक करोड सर्वसाधारण मारिएका थिए। जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताएका थिए। युद्ध टुंगिएको लामो समयसम्म घर नआउँदा ‘जिउँदो छैन’ भन्ने अनुमान गर्न थालिएको थियो। परिवारले मायाँ मार्न लागेको बेला पत्थरमान २००५ साल असोजमा सुरक्षा गार्डसहित घर आइपुगेका थिए। उनलाई भारतीय सेनामै कार्यरत पाथेकाका सन्तबहादुर राईले सुरक्षा गार्डका साथमा घरसम्म ल्याएर छाडेका थिए। 

घर आएको दुई महिना नबित्दै उनले मंसिरमा बिवाह गरेका उनका ६ बहिनी छोरी र १ भाई छोरा छन्। 

प्रकाशित: १४ श्रावण २०७५ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App