१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारविरूद्ध प्रस्तुत हुने राजपाको तयारी

काठमाडाैं - सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरूले बताएका छन्। साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए। माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा समान्य चासोसमेत नराखेको भन्दै राजपाका नेताहरूले सरकारविरूद्ध आक्रोश पोखेका छन्।

सरकारले पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ। फुटाएको मन्त्रालयमा प्रधानमन्त्रीले वर्तमान सरकारकै एक राज्यमन्त्रीलाई जिम्मवारी दिने तयारी गरेको स्रोतको भनाइ छ। राजपाका एक नेताले ओलीले संघीय फोरमलाई प्राथमिकता दिएको तर राजपालाई बेवास्ता गरेको गुनासो गरे। प्रधानमन्त्रीसँगको भेटमा राजपा नेताहरूले ओलीलाई ज्ञापनपत्र बुझाएका थिए। राजपाले संविधान संशोधन र रेशम चौधरीलाई शपथ खुवाउने मुद्दालाई प्राथमिकताका साथ उठाएको छ। यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता हुनपर्ने, जेलमा रहेका राजपा कार्यकर्ताको रिहाइ हुनुपर्नेलगायत मुद्दा राजपाले अघि सारेको छ। सरकारलाई समर्थन दिए पनि राजपा सांसदहरू संसद्मा विपक्षी बेन्चमा बस्ने गरेका छन्।

पार्टी अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता लिने निर्णय नभए पनि सरकारको कार्यशैलीसँग पार्टी सन्तुष्ट नभएको बताए। उनले भने, ‘हामीले भर्खरैमात्र प्रधानमन्त्रीलाई माग सुनाएका छौं। केही दिन पर्खन्छौं। त्यसबेलासम्म पनि माग पूरा भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जान्छौं।’ राजपा अहिले पर्ख र हेरको नीतिमा रहेको पनि उनले प्रस्ट पारे। राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीको आगामी बैठकमा गम्भीर छलफल हुने बताए। उनले भने, ‘यो विषयमा राजपाको आगामी बैठकमा छलफल हुनेछ। सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने स्थिति बनेको छ।’

राजपाले राखेका मागलाई सरकारले बेवास्ता गरेको र रेशम चौधरी अझै जेलमा रहेको आक्रोश उनले पोखेका थिए । स्रोतका अनुसार राजकिशोरको भनाइसँग सहमत हुँदै पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाललगायत दोस्रो तहका नेताहरू सहमत छन्। राजपा महासचिव केशव झाले पार्टीका मागलाई सरकारले बेवास्ता गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने वातावरण बन्दै गएको बताए।

सरकारविरोधी मोर्चामा आउन ठाकुरलाई देउवाको आग्रह
सरकारलाई समर्थन दिएको राजपालाई नेपाली कांग्रेसले सरकारविरोधी आन्दोलनमा सहभागी भई प्रतिपक्षी मोर्चामा आउन आग्रह गरेको छ। सरकारविरोधी मोर्चामा सहभागी हुने वा नहुने विषयमा भने राजपाभित्रै फरकफरक धारणा छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि पार्टीका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरलाई भेटी सरकारविरोधी आन्दोलनलाई समर्थन गर्न आग्रह गरेको राजपा स्रोतले जनाएको छ। स्रोतका अनुसार देउवाले ठाकुरलाई भने, ‘यो सरकार अधिनायकवादको बाटोमा जाँदैछ। अधिनायकवादलाई रोक्न लोकतन्त्रवादी शक्तिको हैसियतले सरकारलाई दिएको समर्थन फिर्ता लिई तपाईंहरू आन्दोलनमा आउनुहोस्।’

देउवासँगको भेटमा ठाकुरले राजपाले राखेका मागलाई सरकारले बेवास्ता गरेको, अझैसम्म पनि रेशम चौधरीलाई शपथ नखुवाएको, मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा फिर्ता नगरेको गुनासो गरेको स्रोतको भनाइ छ। राजपाका एक नेताका अनुसार ठाकुरले भने, ‘राजपाले उठाएको मुद्दालाई नेपाली कांग्रेसले बोक्ने हो भने हामी सरकारविरोधी मोर्चामा आउँछौं। ’ राजपाले उठाएका मागमध्ये चौधरीको शपथ ग्रहणको मुद्दालाई ठाकुरले प्राथमिकता दिएको स्रोतको भनाइ छ। ठाकुरसँग निकट नेता तथा राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले देउवा र ठाकुरबीच भेट भएको बताउँदै भने, ‘ठाकुरजीसँगको भेटमा देउवाले प्रतिपक्षी मोर्चा बनाउन प्रस्ताव गर्नुभएको थियो तर यस विषयमा राजपाले कुनै निर्णय गरेको छैन।’

कांग्रेस र राजपा एकअर्कासँग नजिक होस् भन्ने देउवाको इच्छा रहेको पनि झाले बताए। उनले भने, ‘कांग्रेस र राजपाबीच सहकार्य र समन्वय कायम राखौं भन्ने देउवाको भनाइ थियो।’ राजपा अध्यक्ष मण्डलका सदस्यहरूमध्ये राजकिशोर सरकारविरूद्ध पार्टी कडा रूपमा प्रस्तुत हुनुपर्ने अडानमा छन् भने राजेन्द्र महतो, शरत्सिंह भण्डारी भने सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन नहुने अडानमा छन्। तर, महतो र भण्डारीसमेत सरकारलाई केही दिनको अल्टिेमटम दिएर समर्थन फिर्ता लिनुपर्छ भन्ने पक्षमा छन्।

प्रकाशित: १२ श्रावण २०७५ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App