८ वैशाख २०८१ शनिबार
राजनीति

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं– सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा. केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन्। स्वतस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेको भएतापनि अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घण्टा डा. केसीको स्वास्थ्य स्थितीलाई निगरानी गर्नतर्फ कुनै पहल गरेको छैन्। रातमा त झन कोही पनि हुँदैन, डा.केसीकै साथमा रहँदै आएका किशोर केसीले जानकारी गराए।

यसैबीच, उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराए। पत्रकार सम्मेलनमा, आफूहरुले ड्युटीको समय मिलाउँदै उपचारमा संलग्न भइरहेको जानकारी गराए।

आवासीय चिकित्सकहरुका अनुसार आज १५ औँ सत्याग्रहको २६ औँ दिनमा आउँदा डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ। उनको सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ।

‘रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ। रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्छ। डा. केसीको रक्तचाप पनि अत्यन्त कम रहेको छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्नेछ’, पत्रकार सम्मेलनमा बोल्दै डा. लक्ष्मण भुषालले डा. केसीले बिस्तारै होस गुमाउँदै भएको जानकारी गराए, ‘हिजो भर्खर मैले आफै बसेर सरको रगत जाँचको लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ। केही दिन यहि अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गर्इ अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था पनि आउन सक्छ।’ 

चिकित्सकहरुका अनुसार यो अवस्थाको बिरामीलार्इ आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ। तर डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसकेका छन्।

प्रकाशित: ९ श्रावण २०७५ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App