७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपप्रधानमन्त्री यादवले उडान ४५ मिनेट ढिलो गराए: थाइ एयरवेज (भिडियो)

विमानस्थलमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।

काठमाडौं- उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी मंगलवार नै पासपोर्ट बनाएर उडानको अन्तिम समयमा एयरपोर्ट पुगेका थिए। उनी सवार हुने थाइ एयरवेजको विमानको ढोका बन्द भइसके पछि पनि खुलाएर उनी बैंकक उडेका हुन्। थाई एयरलाइन्सका कर्मचारीका अनुसार मन्त्री यादव कै कारण उडान झन्डै ४५ मिनेट ढिलो भएको थियो। उडान 'डिले' हुँदा  थुप्रै यात्रुको  बैंककबाट 'कनेक्टिङ फ्लाइट' छुटेको छ।

विमान उड्नुभन्दा १० मिनेट अघि मात्र विमानस्थल पुगेका उनी एयरलाइन्सको काउन्टरमा पुग्दा काउन्टर बन्द भइसकेको थियो। यता विमान धावनमार्गबाट 'टेकअफ' को तयारीमा थियो। 'मन्त्री यादव विमानस्थल आउँदा काउन्टर क्लोज भइसकेको थियो,' थाई एयरवेजका एक कर्मचारीले नागरिकन्यूजसँग भने, 'जहाजको ढोका समेत क्लोज गरेर क्याप्टेन टेकअफको तयारीमा थिए।' तर यादवले पदको प्रभाव देखाउँदै बन्द गरेको जहाजको ढोका खोल्न लगाएर  उड्न सफल भएका थिए।

तर उपप्रधानमन्त्री यादवका नीजि सहयोगीले भने पदीय रवाफ देखाएको कुरा अस्विकार गरेका छन्। 'विमान उडिनसकेकोले मन्त्रीजीलाई पनि लैजान 'रिक्वेष्ट' गरिएको हो। विमानका क्याप्टेनलाई अादेश दिने हाम्रो हैसियत हैन,' उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले भने, 'थाइ एयरवेजका कर्मचारीले सुझाएअनुसार म्यानेजरलाई अनुराेध गर्दै जहाजका क्याप्टेनलाई भनेर ढोका खोलिएको हो।'

'भिआइपीको सवारी हो भने एयरलाइन्सलाई पहिल्यै खवर दिइन्छ। हिजो त्यसो गरिएको थिएन। विमानको ढोका बन्द गरेपछि  खोल्ने कुरा आउँदैन। तर उपप्रधानमन्त्रीले आफ्नो शक्ति प्रयोग गरेर विमानको नियमित उडान तालिकालाई प्रभावित पारे। जसका कारण बैंककमा कनेक्टिङ फ्लाइट रहेका यात्रुले आफ्नो उडान छुटाए', थाई एयरलाइन्सका कर्मचारीले नागरिकन्यूजलाई भने।

उपप्रधानमन्त्रीका सहयोगीले पासपोर्ट लिएरै गएको भनेपनि थाइ एयरवेजका कर्मचारीले सुरुमा मन्त्रीसँग पासपोर्ट माग्दा उपलब्ध गराएका थिएनन्।

विमानस्थल स्रोतले पनि मन्त्रीले आफ्नो रवाफ देखाएको बताएको छ। स्रोत भन्छ, 'तपाई कल्पना गर्नुस् अहिलेको जमानामा कतै हस्तलिखित बोर्डिङपास हुन्छ? शक्ति प्रभावले नै यस्तो भएको हो।' बोर्डिङ पास लिन काउन्टर बन्द भइसकेकाले मन्त्री यादवलाई हस्तलिखित बोर्डिङ पास दिएर सवार गराइएको थियो।

उपप्रधानमन्त्री कसरी ढिलो पुगे?

स्वकीय सचिव चौरसियाका अनुसार पूर्व निर्धारित तालिका अनुसार बैङ्ककको महिडोल विश्वविद्यालयले गरेको दुई दिने सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री बैङ्कक गएका हुन्। एयरपोर्ट जाने बेला घरमा पासपाेर्ट खोज्दा पाइएन र नयाँ पासपोर्ट बनाएर जाँदा विमानस्थल पुग्न ढिलाई भएको हो। तर फ्लाइट नै छुट्ने गरि ढिलो भएको हैन। 'परराष्ट्र मन्त्री रहिसकेको व्यक्ति पासपोर्ट विना एअरपाेर्ट पुगेको भन्ने सूचना अतिरञ्जित छ', चौरसियाले भने।

उपप्रधानमन्त्री यादव साउन ११ गते स्वदेश फर्किने कार्यक्रम छ।

मन्त्रीकाे यो गतिविधि भिडियोमा हेर्न सकिन्छ। भिडियोमा देखिए अनुसार एअरलाइन्सका कर्मचारीले मन्त्रीसँग अलि ठाडो शैलीमा संवाद गरेको देखिन्छ। यद्यपी मन्त्री यादव केही बोलेका छैनन्।

*यसअघि यही समाचारमा फ्लाइटको समय राति लेखिएकोमा दिउँसो भएको सच्याइन्छ।

विमानस्थलमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App