१८ असार २०७७ बिहीबार
राजनीति

साउनभित्र युवा एकता हुने

काठमाडौं – युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ । दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ।

संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ।

एकतापछि हुने संगठनको नाम र केन्द्रीय समितिमा रहने सदस्यको टुंगो लागि नसकेकाले उक्त विषय छलफलका क्रममा रहेको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए। दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्नका लागि युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा कम्युनिस्ट लिगका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल निर्माण गरिएको थियो। पेरिसडाँडास्थित उक्त कार्यदललाई एकताका लागि अहिलेसम्म गरिएका तयारी तथा विधानको मस्यौदा मंगलबार बुझाइएको छ।

इञ्चार्ज पाण्डेले चाँडो एकता गर्नुपर्नेमा जोड दिँदै एकतापछि मुलुकको राजनीतिक, सामाजिक विकास र प्रगतिका लागि नवीनतम सोच र दूरगामी दृष्टिकोणका साथ युवा वर्ग अगाडि आउनुपर्ने बताए। अर्का इञ्चार्ज थापाले उक्त विधान युवालाई अवसर प्रदान गर्ने युवामैत्री रहेको बताउँदै युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।   (रासस)

प्रकाशित: ८ श्रावण २०७५ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App