coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार निरंकुशतातर्फ उन्मुख : कांग्रेस नेता

नेपालगन्ज– नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख हुँदै गएको बताएका छन्। सरकार दुई तिहाईको दम्भबाट सर्बसत्तावादी र अधिनायकवादी बनिरहेको उनीहरुको आरोप छ। प्रेस युनियन बाँकेले सोमबार गरेको पत्रकार भेटघाटमा उपस्थित केन्द्रीय नेताहरुले सरकार निरंकुश बन्दै गएमा सडकबाटै राजीनामा माग्ने अवस्था आउन सक्ने प्रष्ट्याए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ अगाडि बढ्दै गएमा नेपाली जनताले स्वीकार गर्न नसक्ने बताए। ‘सरकार अराजकतातिर अगाडि बढिराखेको छ, केपीजीमा दुई तिहाईको दम्भ भयो, लोकतन्त्रमा दम्भ गरेर अगाडि जान सक्दैन’, उनले भने। सरकारले गर्ने राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्न पाउने अधिकार सबैलाई भएको बताए। जुम्लामा सत्याग्रही डा. गोविन्द केसी र शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि सरकारले गरेको बर्बर दमनको जति निन्दा गरेपनि कम हुने कोइरालाले बताए। 

‘डा. केसीलाई बिरामी भनेर उठाएर काठमाडौं लगियो, शान्तिपूर्ण बिरोध गर्दा सरकारले डण्डा चलायो’, उनले भने। डा. केसीका माग पूरा गर्न सरकारले चासो नदिएकोप्रति आक्रोश पोख्दै कोइरालाले दुई वटा सरकारले हुबहु पास गरेको अध्यादेशलाई संसदमा छलफल गराएर ऐन बनाउन कुनै समस्या नभएको बताए। 

सत्याग्रह गर्न पाइँदैन भन्ने ब्यक्ति नै अलोकतान्त्रिक भएको टिप्पणी गर्दै उनले डा. केसीप्रति नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार नेता र सांसदले नकारात्मक भ्रम सिर्जना गर्ने काम गरेको बताए। आफैलाई प्रधानमन्त्री बनाएको माइतीघर मण्डलालाई प्रधानमन्त्री ओलीले निषेधित क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै कोइरालाले भने, ‘उहाँ सर्वसत्तावाद, अधिनायकवादी र कम्युनिष्ट मानसिकताबाट अगाडि बढ्दै हुनुहुन्छ, गलत काम गरेको हुँदा हामीले बिरोध गरेका हौं।’ 

अर्का केन्द्रिय सदस्य प्रदीप पौडेलले डा. केसीको मुद्दालाई मात्र बोकेर कांग्रेस सडकमा नआएको जिकिर गरे। ‘कांग्रेस रहरले सडकमा गएको होइन, गोविन्द केसीको मात्र मुद्दा होइन, सरकारका गल्ती र कमजोरी धेरै छन्, सरकारले लोकतन्त्रका सबै मान्यतालाई कुल्चिने काम गरेपछि कांग्रेसले बिरोध गर्न बाध्य भएको हो’, उनले भने ‘समृद्धिको बाटोमा जाने उहाँहरुको छाटकाट हुन्थ्यो भने बिरोध हुँदैनथ्यो।’ 

सरकार अधिनायकवादी शैली जारी राख्दै गएमा प्रधानमन्त्रीको जनताले राजीनामा माग्नुपर्ने स्थिती आउने बताए। ‘उहाँकै कार्यकर्ताले पनि पार्टीका जोगाउनका लागि भएपनि राजीनामा माग्ने अवस्था आउन सक्छ,’ पौडेलले प्रश्न गर्दै भने ‘हिजोका दिनमा ज्ञानेन्द्रले यस्तो काम गर्दा निरंकुश हुने, अहिले त्यही काम केपी जीले गर्दा लोकतान्त्रिक हुन्छ?’ सरकारको काम गर्ने शैली नियन्त्रणवादी भएको टिप्पणी गरे। लोकतन्त्रका लागि लामो समयदेखी संघर्ष गर्दै आएको कांग्रेसले निरंकुशता विरुद्ध हात बाँधेर बस्न नमिल्ने प्रष्ट्याए।

प्रकाशित: ७ श्रावण २०७५ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App