८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारको कार्यशैलीप्रति राजपा असन्तुष्ट

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ। सरकार गठनमा समर्थन दिएको उसले असन्तुष्टिबारे बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकृष्ट गराएको छ। पार्टी अध्यक्ष मण्डलका सदस्यहरूले प्रधानमन्त्री निवास बालुवाटार गई प्रधानमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले जनसरोकारलगायतका विषयमा प्रभाकारी काम नगरेको र राजपाले राखेको मागप्रति बेवास्ता गरेको आरोप लगाइएको छ। सरकारको कार्यशैलीबाट सरकारप्रति राजपाको विश्वासमा असर परेको ज्ञापनपत्रमा जनाइएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने ज्ञापनपत्रमा केही उल्लेख छैन। ज्ञापनपत्रमा मधेका मुद्दा सम्बोधन गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने, थुनामा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने, प्रदेशमा आवश्यक संख्यामा कर्मचारी जनशक्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएका छन्।

पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीका माग पूरा गराउनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आफूहरू बालुवाटार गएको बताए। उनले भने, ‘सरकारले बोलेर मात्र हुँदैन। काम गर्नुप-यो।’ आफूहरूसँगको छलफलमा प्रधानमन्त्रीले राजपाको माग पूरा गर्ने आश्वासन दिएको पनि उनले बताए। उनले भने, ‘प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ। माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ।’

भेटमा प्रधानमन्त्रीले तराईको विकास, चुरे संरक्षण, तटबन्ध निर्माण, उद्योग स्थापनालगायतका विषयमा बृहत् योजना बनाउन राजपा नेताहरूलाई आग्रह गरेका थिए।

संविधान संशोधनका बारेमा राजपा नेताहरूले राखेका जिज्ञासामा प्रधानमन्त्रीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्रीलाई भेट्न राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर तथा सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा बालुवाटार पुगेका थिए।

प्रकाशित: ५ श्रावण २०७५ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App