१६ चैत्र २०८० शुक्रबार
राजनीति

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

गण्डकी प्रदेशको प्रदेशसभा भवन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै सभामुख नेत्रनाथ अधिकारी । तस्बिर : उमेश पुन/नागरिक

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरे। दिउँसो १२ः४० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेतापनि उपस्थित सांसद, सर्वसाधारण, पत्रकार सबैलाई उनले साढे २ घण्टा कुराएपछि मात्र संसदमा उपस्थित भए।

बिहीबारको पहिलो संसद बैठकमा नै सम्बोधन गर्ने क्रममा उनले रेल र पानीजहाजका कुरा नै दोहो-याए। गण्डकी प्रदेशको सम्भावनाको विषयमा बोल्ने अनुमान गरिएतापनि उनले अन्यत्रै बोलिसकेको कुरा गर्न सवा घण्टा खर्चिए। सम्बोधनको सुरुवाती क्रममा गण्डकी प्रदेशको प्रशंसा गरेतापनि रेल र पानीजहाजमा नै उनले जोड दिए।

रेललाई नै जोड दिएका ओलीले त्यसमा मिनिरल वाटरलाई जोडे। उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

गण्डकी प्रदेश हिमालसँग जोडिएको र हिमालको पानी किटनाशक हुने हुँदा नेपालीले पानीलाई पनि बेच्न सकिनेमा उनले जोड दिए। पहराबाट मिनिरलसहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाइने दाबी गरे। ‘हामीले बोतलको पानी पिउन मजा मान्छौँ, तर लेकको पानी यत्तिकै पनि पिउन सकिन्छ, त्यसमा मिनरल पनि हुन्छ, उताबाट रेलले सामान लिएर आउँछ, यताबाट हामीले मिनरल वाटर पठाउन सक्छौँ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए। प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ।

यस्तै बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक बनाइएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गरे। ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक बनाए। अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छ?’ उनले प्रश्न गरे, ‘नेपालमा रेल चल्छ। पूर्व पश्चिम रेल चलाइन्छ।’ रक्सौल–काठमाडौं रेल पूर्व सम्भाव्यता अध्ययन सुरु भइसकेको र छिमेकी मुलुक चीनले समेत आउँदो अगष्टबाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ। 

तुइनको विषयलाई पनि ओलीले दोहो-याए। उनले भने, ‘मलाई तुइनको शत्रु भनेपनि हुन्छ, पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन्। तर त्यसको मतलब मलाई छैन, मैले तुइन हटाएरै छाड्नु।’

प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भ्रष्टाचारको अन्त्य हुनु आवश्यक रहेको समेत औंल्याए। नयाँ अभ्यासमा रहेका कारण संविधान कार्यान्वयनलाई सही बाटोमा अघि बढाउन प्राप्त उपलब्धिलाई रक्षा गरेर विकासको गतिमा अगाडि बढ्न उनले सुझाव दिए।

उनले गण्डकी प्रदेश शिक्षा, स्वास्थ र पर्यटनको हवको रुपमा रहेको भन्दै प्रदेश विकासमा संघीय सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए। 

डा. गोविन्द केसीको विषयमा कुरा नउठाएतापनि उनले शिक्षाको लागि वर्षेनी ५० लाख खर्चेर विद्यार्थी बाहिर गइरहेको अवस्था अन्त्य गर्न मुलुकमा नै शिक्षण संस्था खोलेर विदेशका विद्यार्थी पढ्न आउने वातावरण बनाइने बताए।

प्रकाशित: ३ श्रावण २०७५ १५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App