७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

फाइल तस्विर ।

पोखरा - अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो। 

प्रदेशसभामा बिहिबार ३ वटा बैठक सञ्चालन हुने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरेको थियो । पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने एजेण्डा रहेको थियो। तोकिएको समयभन्दा झन्डै साढे २ घण्टा ढिलो आएका ओलीले सवा घण्टासम्म समय लिए । त्यसपछि साढे ५ बजेसम्मलाई सदन स्थगित गरियो।

दोश्रो बैठकमा प्रदेशसभा व्यवस्थापन सम्बन्धिको विधेयक टेबुल गर्ने कार्यसूची रहेको थियो । सभामुख नेत्रनाथ अधिकारीले दोश्रो बैठक सञ्चालन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरे । सभामुख अधिकारीले त्यसपछि प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई बोल्ने अनुमति दिए । सदनमा बोल्दै नेता पोखरेलले भने, ‘दुई तिहाई मतसहितको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो बैठकमा सम्बोधन गर्दै गर्दा जुम्लामा नेपाली जनताको हितमा अनसन बसिरहेका डा. गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाण्डौ लगियो, नागरिक समाज, युवा, राजनीतिक दलहरु, आम नेपालीहरुको माग हुँदाहुँदै पनि सरकारले मरणासन्न अवस्थामा रहेका डा. केसीको जीवनप्रति कुनै मानवीय संवेदना नदेखाई गरेको कार्य निन्दनीय छ, म यसको घोर भत्सना गर्दछु।’डा. गोविन्द केसीले उठाएका विषय सम्पुर्ण नेपाली जनता, बिरामी हुँदा सिटामोल नपाउने विपन्न वर्ग, अस्पताल देख्न नपाएका कर्णालीवासीको माग रहेको उनले बताए । उनले भने, ‘अनसन र सत्याग्रहबाट आर्जित मुलुकमा अनसन बस्दा शक्तिशाली सरकारले गरेको व्यवहार घृणित छ ।’ माथेमा कार्यदलले ल्याएको चिकित्सा विधेयकलाई जस्ताको त्यस्तै अध्यादेशको रुपमा पेश गर्न उनले सभामुख मार्फत केन्द्रिय सरकारलाई समेत ध्यानाकर्षण गराए।

यस्तै, कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाप्रति पनि ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय  दलका नेता समेत रहेका पोखरेलले प्रश्न गरे, ‘संविधानमा एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था छ, निर्वाचनका बेला फरक पार्टी भएतापनि हाल एकीकरण भईसकेपश्चात पद ओगटेर बस्नुमा राजनीतिक, संवैधानिक र नैतिकताको प्रश्न उठदैन् ?’

कांग्रेसले सदन अवरुद्ध गरेसँगै सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार दिउँसोसम्मको लागि सदन स्थगित गरेका छन्।

२३ विद्यार्थी प्रहरी नियन्त्रणमा
कास्की प्रहरीले २३ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर छाडेको छ । विद्यार्थीहरुले डा. गोविन्द केसीको अनसनबारे सरकार जिम्मेवार नभएको भन्दै गण्डकी प्रदेशको प्रदेशसभा अगाडिको मूलगेटमा नाराबाजी र कालोझण्डा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनहरुले केही समय कालोझण्डा प्रदर्शन गर्दै आन्दोलन समेत गरे। 
 

 

प्रकाशित: ३ श्रावण २०७५ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App